
विचरा ओलीदेखि वाहवाह ओलीसम्म
काठमाडौँ- विगत ४२ वर्षदेखि सक्रिय राजनीति गर्दै आएका नेकपा एमालेका निर्वाचित अध्यक्ष एवं झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित केपी शर्मा ओलीको जन्म वि.स. २००८ सालमा तेह्रथुमको इवा गाविस-२ तीनसल्लेमा भएको हो।
बुबा मोहनप्रसाद ओली र आमाको मधु ओलीको कोखबाट जन्मिएका ओली तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय (तत्कालीन प्रणामी प्रावि)बाट पढाइ सुरु गरेका थिए।
ओलीको परिवार वि.सं. २०२२ सालमा बसाइसराइ गरी तराईस्थित झापा झरेको थियो। झापाको सुरुङ्गास्थित कन्काइ नदी किनारमा बसोबास गरेको उनको परिवार त्यतिबेला निकै गरिब थियो। डेढ वर्षकै उमेरमा ओलीले आमा गुमाउनुर्यो। उनी सानो छँदा कन्काई नदीमा आएको बाढीले घर जग्गा सबै बगायो। त्यसपछि उनको परिवार सुकुम्बासी भयो।
सानैमा आमाको माया गुमाउनु परेको र सुकुम्बासी तथा गरिब परिवारमा जन्मिएको कारण उनको बाल्यकाल निकै कष्टपूर्ण रुपमा बित्यो। हजुरबा र हजुरआमाले ओलीलाई हुर्काए, पढाए। पढाइको सिलसिलामा झापा आन्दोलनका शहीद रामनाथ दाहालसँग उनको भेट भयो। चतुर र मेधावी विद्यार्थी देखेपछि दाहालले ओलीलाई आफ्नै घरमा राखेर पढाए। दाहालको प्रेरणाले ओलीमा राजनीतिक झुकाव बढ्दै गयो।
विद्यार्थी छँदादेखि नै ओली मीठो र प्रष्ट ढंगले बोल्ने गर्थे। अरुको खुलेर आलोचना पनि गर्थे उनी। एसएलसीपछि ओलीले गाउँकै प्राथमिक विद्यालयमा शिक्षणमा आवद्ध भए। एकातिर शिक्षण गर्नुपर्ने र अर्कोतिर सक्रिय राजनीति। राजनीतिको सक्रियता बढ्न थालेपछि ओलीले शिक्षण पेशा छाडे।
वि.सं २०२३ सालदेखि नै राजनीतिमा प्रवेश गरेका उनले वि.सं. २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए। पार्टीमा लागेदेखि नै पञ्चायत विरोधी आन्दोलन चर्किदै गएकाले ओली भूमिगत हुनुपर्यो। पञ्चायती शासकहरुको विरुद्धमा आन्दोलन चर्काएकै कारण उनी वि. सं २०२७ सालमा पक्राउ परे। त्यही क्रममा उनले १४ वर्षसम्म जेल जीवन व्यतीत गर्नुपर्यो।
त्यसपछि ओली जेलमै रहँदा २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख भएर झन राजनीतिमा सक्रिय भए। २०४८ सालदेखि उनले पार्टीमा स्थायी कमिटी सदस्यको रुपमा समेत काम गर्न थाले।२०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा झापा-६ बाट निर्वाचित भए।तर वि. सं. २०६४ सालको संविधानसभा चुनावमा भने उनी झापा-७ बाट हारको समाना गर्नुपर्यो।उनले हार व्योहोरे पनि राष्ट्रिय राजनीतिमा भने आफ्नो तर्फबाट महत्वपूर्ण योगदान दिँदै आए।
वि.सं २०७० सालको दोस्रो संविधानसभा चुनावमा भने उनी भारी मतले विजयी भए। त्यसपछि ओली पार्टीको आन्तरिक पदमा एकपछि अर्को गर्दै सफल हुँदै आए।उनले संसदीय दलको निर्वाचनमा पार्टी अध्यक्ष झलनाथ खनाल र अर्का बलिया र वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै पहिलोपटक पार्टी प्रमुखको रुपमा उदाउन सफल भए।
यसअघि उपप्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्रीसमेत भइसकेका ओलीले पार्टी प्रमुखमा रहेर सधैं चर्चाको केन्द्रविन्दुमा रहँदै प्रधानमन्त्री भए। यसका साथै आफ्नै नेतृत्वमा संघीय संरचना अन्तर्गत स्थानीय निकायमा पार्टीलाई बहुमत ल्याएर जिताउन उनी सफल भए।
प्रष्ट बोल्ने र अडान राख्ने अनि उखानटुक्का प्रयोग गरेर व्यंग्य वाण हान्न खप्पिस नेताको रुपमा परिचित ओलीले त्यति मात्रै नभएर आक्रामक माओवादी केन्द्रलाई समेत एक ठाउँमा ल्याएर वाम एकताको सूत्रमा बाध्ने प्रयास गरिरहेका छन्।
अब ओलीमाथि देशसँगै एकीकृत पार्टीको जिम्मेवारी सन्तुलित भएर सम्हाल्नु पर्ने जिम्मेवारी आएको छ। वाम एकता गर्दा आफ्नो पार्टीसँगै माओवादीका नेतालाई पनि मिलाएर अघि बढ्नु पर्ने जिम्मेवारी उहाँको काँधमा छ।