
धनगढी- नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वको नेकपा माओवादीले दुरसञ्चार सेवा प्रदायक संस्था एनसेललाई नेपालबाट लखेट्ने चेतावनी दिएको छ। बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले यस्तो चेतावनी दिएका हुन्।
‘दलाल राज्यसत्ताका केही व्यक्तिसँग मिलेर एनसेलले करोडौँ रकमको कर छली गर्न खोजेको छ, उसले यस्ता हर्कत बन्द नगरे नेपालबाट लखेटेरै छोड्छौ,’ पत्रकार सम्मेलनमा पुनले भने। केही दिनयता प्रदेश ७ का बिभिन्न जिल्लामा रहेका एनसेलका टावरहरुमाथि बिप्लब समुहले बम बिष्फोट गराइरहेको छ।
‘हामीले अहिले चेतावनी स्वरुप केही कारबाही गरेका छौँ, तर सुध्रिने होइन र राज्यलाई तिर्नुपर्ने कर तिर्ने होइन भने एनसेल नेपालबाट लखेटिन्छ,’ पुनले भने।
जनप्रतिनिधिलाई राजीनामा दिन चेतावनी
यस्तै विप्लव नेतृत्वको नेकपा माओवादीले जनसत्ता आफूले चलाउने भन्दै जनप्रतिनिधिहरुलाई राजीनामा दिन आग्रह गरेको छ। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दैै पार्टीले भ्रष्ट सत्ताको मोहमा नफसी राजीनामा दिन जनप्रतिनिधिहरुलाई आग्रह गरेको हो।
‘जनप्रनितिधिहरुलाई राजीनामा दिन हामीले प्रेस विज्ञप्ति मार्फत आग्रह गरेका छौँ, केही दिनमा सबैलाई पत्र पनि काटिनेछ, मान्नुभएन भने जनकारवाही हुनेछ,’ पुनले पत्रकार सम्मलेनमा भने।
जनकारवाही कस्तो हुने भन्नेबारे पत्रकारले सोधेको प्रश्नमा पुनले गुण र दोषको आधारमा कारवाही चयन हुने बताए। ‘हामीले अहिले जनप्रतिनिधिबाट राजीनामा दिएर जनसत्ता चलाउने ठाउँ खाली गरिदिन आग्रह गरेका छौँ, उहाँहरुलाई राजीनामा दिन बाध्य पनि पार्नेछौ, मान्नुभएन भने हदैसम्मको कारवाही हुन्छ,’ उनले भने।
पुनले अहिलेको राज्य सत्ताले जनताको चाहना पूरा गर्न नसक्ने भएकोले कर नतिर्न पनि जनतालाई आग्रह गरे।