नेपालगञ्ज– तस्करी गर्ने नौलो तरिका यहाँ बाहिर आएको छ। चामलको बोराभित्र चिनी राखेर सिलबन्दी गरेर ल्याउने गरेको खुलेको छ।
पाँच नम्बर प्रदेशको विशेष ब्यूरोले बिहीबार जयसपुरबाट चामलको बोराभित्र राखेर ल्याइएको दुई क्वीन्टल चिनी बरामद गरेको हो।
अटोरिक्सामा राखेर भन्सारकै बाटो भएर चिनी ल्याइँदै थियो। ‘बजरंगी जिरा मसिनो चामल’ लेखिएको बोरामा राखेर चिनी ल्याइएको थियो। ब्यूरोको टोलीले जयसपुरमा अटोरिक्सा रोकेर जाँच गर्दा चामलको बोरामा चिनी भेटिएको हो।
ब्यूरोको टोलीले विशेष सुराकका आधारमा जाँच गरेको थियो। चार बोरा चिनी लिएर आएका दुई महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। भारतबाट चामल भन्दै चिनी ल्याउने महिलाहरु ‘भरिया’मात्रै भएको प्रहरीले बताएको छ।
चिनी कोहलपुरका व्यापारीको भएको स्रोतले बताएको छ। कमला शाही र प्रनिता शाहीलाई चामलसहित प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ।
चामल भन्दै महिलाले भन्सारकै बाटो भएर चिनी ल्याएका थिए। क्यारिङ गर्ने महिलाहरुले जाँच गर्न सडकमा बस्ने भन्सार कर्मचारी तथा चेकपोष्टका प्रहरीलाई प्रलोभनमा पारेर सामानहरु ओसार्ने गरेको पाइएको छ।
यसैबीच, प्रहरीले राधापुर इलाकाबाट पनि दुई क्वीन्टल चिनी बरामद गरेको जनाएको छ। साइकलमा राखेर ल्याउँदै गरेको चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ। छोटी नाका हुँदै चिनी ल्याइएको थियो।
नेपालगञ्ज नाकाबाट तस्करी बढेपछि प्रहरीले आधा दर्जनबढी छुट्टाछुट्टै टोली परिचालन गरेर कडाइ गरेको छ। पाँच नम्बर प्रदेश, संघीय इकाई प्रहरी, जिल्लाबाट तस्करी रोक्न छुट्टाछुट्टै टोली खटिएका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































