
काठमाडौँ- प्रदेश नम्बर एकको मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन्। विराटनगरको वीरेन्द्र सभागृहमा बिहीबार प्रदेश प्रमुख गोविन्द तुम्बाहाङद्वारा पद तथा गोपनीयताको सपथग्रहण गर्दै राई मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
नवनियुक्त मुख्यमन्त्री राईले सञ्चारकर्मीसँग मुख्यमन्त्रीको पहिलो बैठक बस्ने बताएका छन्। त्यस बैठकले केही निर्णय गर्ने उनको भनाइ छ।
त्यसैगरी प्रदेश नम्बर एकको सानो आकारको मन्त्रिपरिषद् पनि गठन भएको छ। सात मन्त्रालयमध्ये तीन मन्त्रालयमा एमाले र माओवादी केन्द्रबीच भागबण्डा भएको हो। एमालेले तीन र माओवादी केन्द्रले एक मन्त्रालय हात पारेको छ।
एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हिक्मत कार्की, समाजिक विकास मन्त्रालयमा जीवन घिमिरे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा जगदीश कुशियतले जिम्मेवारी पाएका छन्। त्यसैगरी एमाओवादी केन्द्रबाट इन्द्र आङम्बोले आर्थिक मामिला मन्त्रालय जिम्मेवारी वहन गर्नेछन्।
मन्त्रिमा नियुक्त चार जनालाई प्रदेश प्रमुख तुम्बाहाङले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए। त्यसैगरी भौतिक पूर्वाधार विकास, भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी हाल मुख्यमन्त्री राईले सम्हाल्ने भएकाछन्।