नेपालयबाट आउने भयो ‘कविशिरोमणि रचनावली’

नेपालयबाट आउने भयो ‘कविशिरोमणि रचनावली’
+
-

काठमाडौँ- पब्लिकेशन्स नेपालयले नेपाली साहित्यका स्थापित रचनाकारहरूका कृतिहरू प्रकाशन गर्ने क्रमलाई निरन्तरता दिएको छ।

प्रकाशन संस्थाले यस्ता कृतिहरूको प्रकाशनको शृंखलालाई ‘नेपालय क्लासिक्स’नाम दिँदै आएको छ। यही शृंखला अन्तर्गत यसपालि कविशिरोमणि लेखनाथ पौड्यालका कृतिहरू परेका छन्। ‘कविशिरोमणि रचनावली’ भित्र लेखनाथ पौड्यालका सम्पूर्ण सृजनाहरू समावेश छन्।

वि. सं. १९४१ पुसमा कास्कीको अर्घौ अर्चलेमा जन्मिएका कवि शिरोमणि लेखनाथ पौड्याल नेपाली साहित्यका एक शीर्ष साधक हुन्। पौड्याल नेपाली पद्य साहित्यमा शास्त्रीयता र दर्शनलाई कलापूर्ण, सरल र सरस तरिकाले प्रस्तुत गर्ने सिपका अगुवा कवि मानिन्छन्।

संस्कृत भाषाको पृष्ठभूमिमा हुर्किएर पनि नेपाली भाषाको काव्य सृजनालाई आधुनिक युगमा प्रवेश गराउने कामको आरम्भ लेखनाथबाटै भएको मानिन्छ।

कविशिरोमणि लेखनाथलाई परिष्कारवादी धाराका प्रणेता पनि मानिन्छ। यी कविले आफ्ना प्रकाशित कृतिलाई समेत पुनःपरिमार्जित गर्ने गरेको पाइन्छ। कविशिरोमणिका ‘पिजराको सुगा’, ‘कालमहिमा’, ‘सत्य—सन्देश’, ‘गौंथलीको चिरिबिरि’, ‘जीवन—चङ्गा’ जस्ता अनेकौं रचनाहरू आम पाठकका बीच पनि लोकप्रिय सृजना हुन्। उनका कतिपय कविताका हरफहरू त लोकोक्ति बनेर समेत फैलिएका छन्।

कालिदास र मैथलिशरण गुप्तालाई मन पराउने कविशिरोमणि लेखनाथ पौड्याल महाकवि लक्ष्मीप्रसाद देकोटा र माधवप्रसाद घिमिरेलाई पनि औधि मन पराउँथे। महाकवि लक्ष्मीप्रसाद देवकोटाका शब्दमा लेखनाथ पौड्याल ‘ऋषिकल्प प्राज्ञ’थिए। लेखनाथलाई औपचारिक शिक्षा थोरै भएको भन्दै प्रज्ञाप्रतिष्ठानको सदस्यता दिन हिच्किचाउने राजा महेन्द्र सामु देवकोटाले ‘ऋषिकल्प प्राज्ञ’नभएको संस्थामा आफू रहनु उचित नहुने धारणा राखेको सन्दर्भलाई उल्लेख्य मानिन्छ।

लेखनाथको निधनको आधा शताब्दीपछिसम्म पनि उनका केही रचनाहरू अप्रकाशितै थिए। ती कृतिसमेत खोजबिन गरी प्राध्यापक सनतकुमार वस्तीले ‘कविशिरोमणि रचनावली’ लाई पूर्णता दिएका हुन्। नेपाल संस्कृत विश्वविद्यालयका साहित्य विषयका प्राध्यापक वस्तीले लेखनाथका जटिल पद—पदावलीलाई सन्दर्भ सहित सरल बनादिएको हुनाले यो संग्रह पाठकका निम्ति थप आकर्षक बन्न सक्छ।

‘हरेक नेपालीका घरमा श्रद्धासाथ राख्न मिल्ने गरी बाबाका कृतिहरूको संकलन प्रकाशित होस् भन्ने चाहना थियो; साहित्यकार जगदीश घिमिरेले कोट्याउनु भएको कुरामा परिवारका सदस्य, लेखनाथ प्रतिष्ठान, प्राध्यापक सनतकुमार वस्ती र सुभचिन्तक सबैबाट अनुपम सहयोग प्राप्त भयो र हाम्रो हातमा यति आकर्षक ‘कविशिरोमणि रचनावली’ आइपुग्यो; मेरो खुसीको सिमा छैन,’ रचनावली हातमा परेपछि लेखनाथकी नातिनी डा. प्रतिभा पाण्डेको प्रतिक्रिया थियो।

‘नेपाली साहित्यमा स्थापित सृजनशील साधकका अमूल्य कृतिहरू बजारमा अप्राप्य छन्। त्यस्ता साहित्यिक कृतिहरू स्तरीय रुपमा आजका पाठकका निम्ति पनि उपलब्ध हुनुपर्छ भन्ने ध्येयले हामीले ‘नेपालय क्लासिक्स’ शुरु गरेका हौं। यो क्रममा कविशिरोमणिका कृतिलाई प्रकाशनमा ल्याउन पाउनु हाम्रो अहोभाग्य हो,’ पब्लिकेशन्स नेपालयका किरणकृष्ण श्रेष्ठले भने।

कविशिरोमणिका सम्पूर्ण कृतिको संगालो ‘कविशिरोमणि रचनावली’ ले नेपाली साहित्यको विकासक्रमलाई समेत बुझ्न सघाउ पुर्‍याउने विश्वास गर्न सकिन्छ। उनका समग्र सिर्जनाहरूलाई एकगठ पारेर प्रकाशित ‘कविशिरोमणि रचनावली’ लाई विधागत् पाँच भागमा संगालिएको छ।

कविशिरोमणि लेखनाथको देहावसान वि.सं. २०२२ फागुन ७ गते भएको थियो। ‘कविशिरोमणि रचनावली’ रचनाकारको पुण्यमितिको अवसर पारेर फागुन ७ गते सार्वजनिक हुने भएको छ। आकर्षक र बाक्लो गातामा सजिएको यस सँग्रहको मूल्य ६ हजार ९ सय ७५ रुपैयाँ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?