
विराटनगर- प्रदेश नम्बर एकमा आवास गृहको व्यवस्था नहुँदा मुख्यमन्त्रीदेखि मन्त्रीसम्मलाई होटल तथा गेस्ट हाउसमा बस्नु पर्ने बाध्यता छ।
विराटनगर अस्थायी राजधानी बन्नुपूर्व नै निर्धारित संख्यामा मन्त्री मुख्यमन्त्रीका लागि आवासको व्यवस्था हुनुपर्ने भएपनि त्यसअनुसार कार्य हुनसकेको छैन। बिहीबारदेखि औपचारिक रुपमा मुख्यमन्त्रीमा नियुक्त भएका शेरधन राईले आफ्नो कार्यकक्ष पाए पनि हाल उनको बसाइको टुङ्गो लागेको छैन।
उनको बसाइ हाल, नेपाल राष्ट्र बैंकको अतिथि गृहमा भइरहेको छ।
त्यसैगरी सुनसरीका सभासदस्य एवं उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्री जगदिश कुसियत भने दैनिक इनरुवाको श्रीपुरस्थित निजी निवासबाट मन्त्रालय धाउने फिराकमा छन्। बसाइका विषयमा उनले भने, ‘मन्त्रालय बन्दैछ, दुई चारदिनमा क्वार्टरमै बसाइ हुनेछ। तर, त्यसपूर्व घरबाटै मन्त्रालय पुग्नेछु।’
मन्त्री कुसियतको मन्त्रालय विराटनगर २ तिनपैनीस्थित क्षेत्रीय वन कार्यालयमा छ।
अर्कोतर्फ माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका पाँचथर खका सभासदस्य इन्द्रप्रसाद आङ्बो पनि यतिबेला होटलमै बसिरहेका छन्।
विराटनगरको रोडशेष चोकस्थित स्वागतम होटलमा बस्दै आएका मन्त्री आङ्बोका अनुसार, ‘भर्खर मन्त्रीमा नियुक्त भएकाले धेरै सोधीखोजी गरिएन। यस विषयमा पर्याप्त जानकारी पनि लिइएको छैन।’
होटल ब्यवस्थापनका अनुसार उनका नाममा बिहीबार ४ वटा कोठा बुक भएको र दुइवटा शुक्रवार छोडिसकेका छन्।
यद्धपि अझै केही दिनको उनको बसाइ होटलमा हुनसक्ने सम्भावना छ।
होटलमा निजी रकम तिरेर बसिरहेका मन्त्री आङबो चाँडै क्वाटर पाउने आशमा छन्। मन्त्री आङबोमाथि प्रदेश नम्बर एकको अर्थ योजना तथा बजेट, वित्तीय संस्थाहरु र तथ्याङ्कको जिम्मेवारी रहनेछ।
त्यसैगरी एमालेतर्फ समाजिक विकास मन्त्रीमा नियुक्त भएका जीवन घिमिरे पनि वडा नम्बर १० स्थित आफ्नै निवासमा रहेका छन्। घिमिरेले शिक्षा, स्वास्थ्य, सरसफाइ, महिला युवा तथा खेलकुद, समाजिक सुरक्षा, भाषा, संस्कृति, र श्रम तथा रोजगारको जिम्मेवारी सम्हाल्नेछन्।
त्यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की पनि झापाबाटै राजधानी विराटनगर आइरहेका छन्। कार्कीमाथि शान्ति सुरक्षा, प्रदेश प्रहरी, अनुसन्धान व्यूरो, विपद् व्यवस्थापन, द्वन्द ब्यवस्थापन, प्रदेश कर्मचारी प्रशासन, कानुन न्याय तथा प्रदेश सभा मामिलाको जिम्मेवारी रहनेछ।
बसाइका क्रममा अन्य नेताहरुको पनि उस्तै पिरलो छ। अस्थायी राजधानी विराटनगर भएपछि हाल पहाडबाट कार्यालय धाउने कि भाडा लिएर बस्ने अन्यौलमा नेताहरु छन्। माआवादी केन्द्रबाट संसदीय दलका नेता टङ्क आङबुहाङ भन्छन्, ‘पूर्वतयारी देखिएन, हामी त जसो तसो बसौला। मन्त्रीहरुलाई पनि क्वाटरको ब्यवस्था भएको छैन।’
हालसम्म तलबभत्ताबारे बेखबर रहेको बताएका आङबुहाङ आफू हाल कहिले धरान त कहिले इटहरीस्थित आफन्तकँहा बस्दै आएका छन्। उनी बैठकका समय त्यहीबाट विराटनगर धाउने गर्छन्।
यद्धपि, प्रदेशसभा सञ्चालन गर्न निर्माण भएको नियमावली अनुसार १४ गते बस्ने संसद बैठकबाट एक समिति गठन हुने आश गरेका आङबुहाङ भन्छन्, ‘सो समितिले प्रतिवेदन बनाउनेछ र बैठकले पास गरेपछि यी सबै अन्यौल हट्नेछ।’
ताप्लेजुङबाट प्रदेश सभासदस्यमा जितेका आङबुहाङ नेपाल क्रिकेट एसोशिएसनका पूर्व अध्यक्ष हुन्।