
दक्षिण अफ्रिकासँगको ६ एक दिवसीय क्रिकेट श्रृङ्खला भारतले ५–१ ले जितेको छ । भारतको जितमा कप्तान विराट कोहलीले १२३ बलमा १९ चौका र २ छक्काको मद्दतमा नटआउट १२९ रन बनाए । विराटको यो एक दिवसीय क्रिकेटमा ३५ औँ शतक हो ।
सेन्चुरियमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको हो ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २०५ रनको लक्ष्य भारतले ३२ ओभर एक बलमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो । यस्तै अजिन्क्या रहाणेले नटआउट ३४ रन बनाए ।
शिखर धवन १८ तथा रोहित शर्मा १५ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाका लुंगी एनगिडीले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४६ ओभर ५ बलमा सबै विकेट गुमाएर २०४ रन बनायो । उसका लागि के जोन्डोले ५४ रनको योगदान दिए ।
भारतका शार्दुल ठाकुरले चार विकेट लिए । यस्तै जसप्रित बुमराह र युजवेन्द्र चहलले दुई दुई विकेट लिए । भारतले दक्षिण अफ्रिकामा पहिलो पटक एक दिवसीय क्रिकेट जितेको हो ।
कोहलीको ३५ औँ शतक
सेन्चुरियनमा भएको खेलमा कोहलीले ३६ बलमा ५० तथा ८२ बलमा शतक पूरा गरे । यो उनको यस श्रृङ्खलामा तेस्रो तथा समग्रमा ३५ औँ एक दिवसीय शतक हो ।
कोहलीले १२३ बलमा १९ चौका र २ छक्काको मद्दतमा नटआउट १२९ रन बनाए । उनी म्यान अफ दि म्याच र म्यान अफ दि सिरीज पनि घोषित भए ।
भारतले पहिलो एक दिवसीयमा ६ विकेट, दोस्रोमा ९ विकेट तथा तेस्रो एक दिवसीय १२४ रनले जितेको थियो । यस्तै चौथो खेलमा भने दक्षिण अफ्रिका ५ विकेटले विजयी भयो । तर पाँचौँ एक दिवसीयमा भारत ७३ रनले विजयी भयो ।