
दाङ– प्रदेश ५ को उपसभामुखमा २ जनाको उम्मेदवारी दर्ता भएको छ। एमालेकी सांसद् कृष्णी थारु र नेपाली काङ्ग्रेसकी सांसद् रिना विश्वकर्माको उपसभामुख पदमा उम्मेदवारी दर्ता भएको हो।
मनोनयनस्थल रहेको प्रदेशसभा भवनमा १० बजे नै पुगेकी थारुले सुरूमै उम्मेदवारी दर्ता गराएकी हुन्। थारुपछि नेपाली कांग्रेस पार्टीको तर्फबाट उपसभामुखमा रिना विश्वकर्माले उम्मेदवारी दर्ता गरेकी हुन्।

कांग्रेसकी रिना विश्वकर्मा।
भोलि हुने उपसभामुख निर्वाचनका लागि शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकिएको थियो। निर्धारित समयमा दुई जनाको मात्रै उम्मेदवारी परेको हो। संसदको दोस्रो बैठकले उपसभामुखको निर्वाचनका लागि फागुन ६ गते तेस्रो बैठक बोलाएको थियो।
माओवादीले सभामुख र एमालेले उपसभामुख लिने भागबण्डाका आधारमा सभामुख यसअघि नै चयन भइसकेका छन् भने भोलि उपसभामुख चयन गर्न निर्वाचन हुने छ। वाम गठवन्धको वहुमत भएकाले एमालेकी कृष्णी थारु उपसभामुख बन्ने निश्चित जस्तै छ।