
इन्जुरी समयमा पाएको पेनाल्टीमा गोल गर्दै रोबर्ट लेवान्डोस्कीले जर्मन बुण्डेस लिगामा बार्यन म्युनिकलाई लगातार १३ औँ जित दिलाएका छन् । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले भिएफएल वुल्फबर्गलाई २–१ ले हराएको हो ।
आठौँ मिनेटमा नै ड्नियल डिभाडीको गोलबाट वुल्फबर्गले सुरुवाति अग्रता लिएको थियो । पहिलो हाफमा पछि परेको बार्यन म्युनिखले दोस्रो हाफमा बराबरी गोल मात्रै गरेन, इन्जुरी समयमा विजयी गोल पनि गर्यो ।
६४ औँ मिनेटमा आर्जेन रोबिनको पासमा सान्ड्रो वाग्नरले बार्यनका लागि बराबरी गोल फर्काए । तर सबसिच्युटको रुपमा मैदान आएका लेवान्डोस्कीले इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै जित दिलाए ।
वुल्फबर्गका जिएन–लुका इटरले बार्यनका रोबिनलाई फउल गरेपछि पाएको पेनाल्टीमा लेवानडोस्कीले गोल गरेका हुन् ।
जितपछि शीर्ष स्थानको बार्यनको २३ खेलबाट ५९ अंक भएको छ । उ दोस्रो स्थानको बार्यन लेभरकुजन भन्दा २१ अंकले अघि रहेको छ । राति नै भएको खेलमा ह्यामबर्गलाई हराएको लेभरकुजनको २३ खेलबाट ३८ अंक भएको छ ।