
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच आयोग (एफबिआई) को आलोचना गरेका छन् । फ्लोरिडाको उक विद्यालयमा १७ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डपछि राष्ट्रपति ट्रम्पले एफबिआईको कडा आलोचना गरेका हुन् ।
फ्लोरिडाको विद्यालयमा भएको गोलीकाण्ड रोक्न सकिने सम्भावना रहेको र एफबिआईको कमजोरीका कारण घटना भएको आरोप एफबिआईमाथि छ ।
एफबिआईले सन् २०१६ मा भएको राष्ट्रपतीय चुनावमा ट्रम्पलाई सहयोग गर्ने गरी रुसले हस्तक्षेपको प्रयास गरेको विषयमा अनुसन्धान गर्ने भन्दै अनावश्यक समय खर्चेकाले चाहिने कुरामा ध्यान नदिएको ट्रम्पको भनाई छ ।
फ्लोरिडाको स्कुलमा अन्धाधुन्ध गोली प्रहार, १७ जनाको मृत्यु
आफ्नो चुनावी अभियान र रुसबिच कुनै साँठगाँठ नरहेको र यो कुरा प्रमाणले पुष्टि गरेको ट्रम्पको भनाई छ । एफबिआईले फ्लोरिडा गोलीकाण्डका आक्रमणकारी निकोलस क्रुजमाथिको निगरानीमा कमजोरी भएको स्वीकार गरेको छ ।
क्रुजले पार्कल्याण्डमा रहेको विद्यालयमा आफूले नै आक्रमण गरेको स्वीकार गरेका छन् । यसअघि विद्यार्थीले फ्लोरिडामा र्याली गरेर बन्दुक सम्बन्धी कानुन कडा बनाउन माग गरेका छन् ।