नगरकोट- शिक्षकहरुले विद्यालयका पाठ्यक्रममा भक्तपुरको पहिचान, इतिहास, स्थानीय सीप र प्रविधि, पर्यटन र स्थानीय खेलका विषयवस्तु समेट्नुपर्ने सुझाव दिएका छन्।
भक्तपुर नगरपालिकाले यहाँ आयोजना गरेको कार्यशालामा शान्ति निकेतन माविका प्रअ महेन्द्रगोपाल कर्माचार्यले भक्तपुरको पहिचान, वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले भक्तपुरको इतिहास र वासु माविका प्रअ अम्बिका न्याइच्याइँले स्थानीय सीप र प्रविधिका विषयमा स्थानीय पाठ्यक्रममा राख्न सकिने विषयवस्तुबारे प्रस्तुतीकरण दिएका थिए।
मेघा माविका प्रअ गंगाधर हाडाले भक्तपुरको पर्यटन र वाइजल्याण्ड स्कुलका प्रअ आशकुमार चिकंबञ्जारले स्थानीय खेलबारे धारणा राखेका थिए। नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रअबीच छलफल गरी आएका सुझावका आधारमा स्थानीय पाठ्यक्रम निर्माण गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले बताए।
सरोकारयुक्त पक्षसँग पटक पटक छलफलपछि पाँच सदस्यीय कार्यदल पनि गठन गरिएको छ। नयाँ शैक्षिक सत्रदेखि नै नगरका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरिने बताइएको छ।
नगर प्रमुख प्रजापतिले नगरपालिकाले सात शैक्षिक संस्था तथा तीन जनस्वास्थ्य केन्द्र सञ्चालन गरेर देशकै लागि दिशानिर्देश गरिरहेको जानकारी दिँदै सबैको सामूहिक प्रयास र प्रतिबद्धताबाट स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन गरेर सबै नगरपालिकाका लागि भक्तपुर उदाहरणीय बन्ने बताए।
स्थानीय पाठ्यक्रम निर्माणका लागि नगरपालिकाबाट गठित कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेले संघीय सरकारले तय गरेको स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी कार्यविधि र निर्देशिकानुसार आवश्यकता पहिचान, नीतिगत निर्णय र पाठ्यक्रम निर्माण चरण पूरा गरिने बताए।