
विराटनगर- नेपाली कांग्रेस प्रदेश नम्बर एकको प्रमुख प्रतिपक्षी दलको रुपमा छ। ९३ प्रदेशसभासदस्यमध्ये ५१ स्थान हात पारेको एमालेले सरकार गठन गरेको अवस्थामा कांग्रेस २१ स्थानमा खुम्चिँदै रचनात्मक प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने अवस्थामा छ।
यद्यपि कांग्रेसभित्र बढ्दो फरक विचार र मतान्तरले दलको नेताका लागि सहमतिमा टुंगो लगाउन सकस परेको छ। नेताको चयनका लागि मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा जित हात पारेका पूर्वसञ्चारमन्त्री डा. मिनेन्द्र रिजालको जिम्मेवारी थियो। यसमा लामो प्रयास पनि नभएको होइन, तर देखिएको पछिल्लो अवस्थामा दलभित्रको फाटोलाई सहमतिमा पुराउन असफल डा. रिजाल अन्तत: निर्वाचनको तयारीमा पुगेका छन्।
प्रतिपक्षी नेताका लागि मोरङ ६ बाट जित हात पारेका केदार कार्की, त्यसैगरी सुनसरीका राजीव कोइराला र समानुपातिकबाट चयन भएका शेखरचन्द्र थापाको मनोनयन दर्ता भएको छ। तथापि तीनै सभासदस्यहरुबीच सहमतिको प्रयास जारी छ।
कार्की प्रदेश सभासदस्यको पहिलो बैठकअघि देखि नै प्रतिपक्षी दलको आकांक्षीका रुपमा देखिएका थिए। कोइराला निकट कार्की आफ्नो दाबेदारी बलियो रहेको बताउँछन्। ‘पार्टी त्यसैपछि कमजोर रहेको छ सदनमा, यहा पार्टी र जनताको आवाज आक्रामक र गतिशील बनोस् भन्नका लागि आफू निर्वाचनमा जान तयार रहेको छु,’ कार्की बताउँछन्।
उनी स्पष्ट पार्दै भन्छन्, ‘दलको भूमिका सदनमा कमजोर नबनोस् भन्नका लागि अघि बढेको छु भोलि पछि हट्ने कुरै छैन।’
कार्कीको समर्थक रहेकी प्रदेशसभासदस्य विन्दिया कार्कीका अनुसार सहमतिका लागि अन्तिम समयसम्म प्रयास जारी रहनेछ। यद्धपि निर्वाचन सोमबार २ बजेदेखि ६ बजेसम्म हुनेछ र त्यसअघि दिउसो १ सम्ममा उम्मेदवारी फिर्ता लिनसकिनेछ।
त्यसैगरि, सुनसरीबाट प्रदेशसभासदस्य भएका कोइराला सुनसरी जिल्ला सभापति हुन्। मर्यादाक्रम र वरिष्ठताका हिसाबले पनि आफ्नो उम्मेदवारी जायज रहेको उनको भनाइ छ। उनी भन्छन्, “लोकतान्त्रिक अभ्यास र प्रक्रिया अन्तर्गत दाबेदारी दिएको हुं।” दोश्रोपटक जिल्ला सभापतिको कार्यकालको भूमिका सहज रुपमा वहन गरिरहेका कोइराला नेतृ सुजाता कोइराला निकट छन्।
त्यसैगरि अर्का उम्मेदवार शेखरचन्द्र थापा पनि प्रतिपक्षी दलको लागि लागि परेकाछन्। मोरंग निवासी समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य भएका थापाले पार्टी सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको स्वकीयसचिवको जिम्मेवारी वहन गरिसकेकाछन्।
अर्कोतर्फ, धरानमा बस्दै आएका ताप्लेजुंग प्रदेशसभासदस्य प्रकाश प्रताप हांङगाम भने, लोकतान्त्रिक अभ्यासमा निर्वाचन उत्तम उपाय हुने भएकाले निर्वाचन हुने बताउछन्। हांङगाम भन्छन्, “पार्टी भित्र गुट उपगुट भन्ने कुरा छैन, यहा आफैभित्र साथीहरुबीच योग्यताका लागि खरो उत्रने समय हो। ठूलो पार्टीबाट यतिबेला सानो पार्टी भइएकोछ अब यहा पनि गुट उपगुट भन्ने हो भने जनतालाई आफूहरुले दिएका वाचा पुरा गर्न निकै गाह्रो हुनेछ।”
प्रदेश नम्बर एकमा नेपाली कांग्रेसको ८ सिट प्रत्यक्ष र १३ सिट समानुपातिक गरि कुल २१ सिट रहेको छ।