
१० रातो कार्ड अनि ८ पहेँलो कार्ड ।
ब्राजिलियन फुटबलर विशेष गरी उनीहरुको फुटबलमा उनीहरुको कौशलका लागि चिनिन्छन् । तर ब्राजिलको बाहिया राज्य स्तरीय च्याम्पियनसिप फुटबलमा भने ब्राजिलयन फुटबलरले खेल कौशलको होइन अनुशासनको कमीको कला देखाए ।
भिक्टोरिया र बाहियाबिचको खेलमा दुई टिमका गरेर १० खेलाडीले रातो कार्ड खाए भने ८ खेलाडीले पहेँलो कार्ड ।
पहिलो हाफमा ६ खेलाडीलाई रेफ्रीले पहेँलो कार्ड देखाएको थिए । घरेलु टोली भिक्टोरियाका लागि डेनिल्सनले गोल पनि गरेको थिए । तर दोस्रो हाफमा खेलले नियन्त्रण गुमायो ।
५० औँ मिनेटमा बाहियाले पेनाल्टी पायो । त्यसमा गोल गरेका विनिसिउसले घरेलु समर्थकको अघि गएर नाचेर सेलिब्रेशन गरे । त्यसपछि दुवै तर्फका खेलाडी एक अर्कामाथि जाइलागे । मुक्का हाने ।
खेल १६ मिनेट रोकियो । रेफ्रीले दुवै टिमका गरेर ८ खेलाडीलाई रेड कार्ड देखाए । त्यसमा भिक्टोरियाका तीन र बाहियाका पाँच खेलाडी थिए ।
तर यो घटनापछि खेल सुरु भएको ११ मिनेटमा भिक्टोरियाका थप दुई खेलाडीले रेड कार्ड पाए । त्यसपछि खेल स्थगित भयो । अब खेलको नजिता बाहियालाई ३–० ले दिने सम्भावना छ ।