
काठमाडौं – वाम एकता (एमाले र एकीकृत माओवादी एकीकरण) को प्रयासलाई अन्तिम रुप दिन सोमबार पनि दुई पार्टीका शीर्ष नेताबिच वान–टू–वान वार्ता हुँदैछ ।
शनिबारदेखि वार्तामा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सोमबार पनि वार्ता हुँदैछ । तर वार्ताको समय र स्थान भने तय नभएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सचिवालय संयोजक चेतन अधिकारीले जानकारी दिए ।
दुई शीर्ष नेताबिच आइतबार भक्तपुरमा रहेका माओवादी नेताको घरमा चार घण्टा भन्दा लामो वार्ता भएको थियो ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल व्यवसायी दुर्गा प्रसाइँको घरमा खाना खाँदै। तस्बिर: देशसञ्चार
मध्यपुरथिमिमा रहेका माओवादी नेता तथा व्यापारी दुर्गा प्रसार्इंको घरमा चार घण्टा भन्दा लामो डिनरसहितको भेटवार्तामा दुई पार्टी एकता र कार्यदिशा तथा माओवादी केन्द्रको सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ ।
दुई नेताबिचको छलफल सकारात्मक रुपमा अघि बढेको र अब सोमबार हुने वार्ताले एकतासहितका कुरालाई मूर्त रुप लिने बताइएको छ ।
त्यसका लागि ओली र प्रचण्ड सोमबार पनि वार्तामा जुट्दै छन् । सोमबारको वार्ता निर्णायक बनाउने र त्यसपछि एकता संयोजन समितिको बैठक बोलाउने तयारी रहेको स्रोतले जनाएको छ ।
पार्टी एकताका अधिकांश विषयमा सहमति भइसकेको र बाँकी केही विषयलाई निर्णयमा पुर्याएर प्याकेजमै सहमति गर्ने तयारी भएको दाबी गरिएको छ ।
आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले माओवादी केन्द्रलाई सरकारमा सहभागी हुनेको नाम पठाउन माओवादी अध्यक्ष प्रचण्डसँग आग्रह गरेको तर प्रचण्डले भने एकीकृत पार्टीको कार्यदिशाका बारेमा सहमति गरेर मात्रै अघि बढ्नु पर्ने बताएको उल्लेख गरिएको छ । पार्टी एकताको सैद्धान्तिक विषयमा केही कुरा मिल्न बाँकी भएको बताइएको छ ।
शनिबार बालकोटमा भएको वार्तापछि आइतबारका लागि एकता संयोजन समितिको बैठक डाकिएको थियो । तर आइतबार पनि ओली र प्रचण्ड वार्तामा बसेपछि एकता संयोजन समितिको बैठक अनिश्चित बनेको हो ।
आइतबार लामो वार्ता गरेका ओली र प्रचण्डबिच सोमबार पनि वार्ता हुने र एकतामा बाधा बनेर तेर्सिएका तगारो हटाउने स्रोतले बताएको छ ।