
काठमाडौं – नेपाल–भारत सम्बन्धका विविध आयामको अध्ययन र आवश्यक सुधारका लागि सिफारिस गर्न गठित दुईपक्षीय प्रबुद्ध समूहको आउँदो बैठकमा भारतका एक प्रभावशाली सदस्य अनुपस्थित हुने भएका छन् ।
नेपालका लागि भारतीय राजदूत समेत रहिसकेका प्रबुद्ध समूहका भारतीय सदस्य जयन्तप्रसाद स्वास्थ्यका कारण आउन नसक्ने भएको स्रोतले जानकारी दिएको छ ।
प्रबुद्ध समूहको सातौँ चरणको बैठक बैठक यहि फागुन ११ र १२ गते (आउँदो शुक्रबार र शनिबार) काठमाडौंमा बस्दैछ ।
यसअघिका ६ चरणका बैठकमा दुवै पक्षका सबै सदस्य उपस्थित रहेका थिए । तर यसपटक जयन्तप्रसाद स्वास्थ्यमा समस्या देखिएकाले आउन नसक्ने भएका हुन् ।
काठमाडौंमा हुने यसपटकको बैठकमा यसअघिका बैठकमा भएका मौखिक र लिखित छलफलका आधारमा तयार पारिएको मस्यौदा आदान–प्रदान हुने स्रोतले जानकारी दिएको छ ।
स्रोतले भन्यो, ‘हामी आफ्नो जिम्मेवारकिो महत्वपूर्ण चरणमा प्रवेश गरेका छौँ । दुई पक्षमा देखिएको सौहार्दतालाई आधार मान्दा हाम्रो प्रयास सार्थक देखिएको छ ।’
प्रबुद्ध समूहमा नेपालको नेतृत्व पूर्व मन्त्री तथा कुटनीतिज्ञ डा. भेषबहादुर थापाले गर्नेछन् भने भारतीय समूहको नेतृत्व भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारीले गर्दै छन् ।
यसअघि गएको पुस २६ र २७ गते नयाँ दिल्लीमा भएको बैठकमा नेपाल–भारतबिच भएका पुराना सन्धि सम्भौताको पुनरावलोकन गर्ने विषयमा छलफल भएको थियो ।
अब बस्ने बैठकमा त्यहि छलफलको आधारमा दुवै पक्षले तयार पारेको मस्यौदा आदान–प्रदान गरी अध्ययन गरिने र त्यसमा छलफल हुने स्रोतले बताएको छ ।
दुई देशमा आलोपाली गरी बैठक बस्ने चलन अनुसार यसपटकको बैठक नेपालमा बस्न लागेको हो ।
सम्बन्धित समाचार