काठमाडौं – पार्टी एकताको घोषणासँगै एमाले र माओवादीका नेतामा मन्त्री बन्ने दौडधुप सुरु भएको छ । एमाले र माओवादी पक्षका नेताहरु सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने विषयमा आन्तरिक छलफलमा जुटेका छन् ।
आकांक्षी धेरै भएकाले मन्त्रीको टुंगो लगाउन एमाले र माओवादी दुवैलाई अप्ठ्यारो परिरहेको छ । दुवै पक्षमा गुटगत रुपमा पनि छलफल भइरहेको छ । सकेसम्म बुधबार नभए बिहीबारसम्ममा मन्त्री बन्नेको नाम टुंगो लगाएर सरकार विस्तार गर्ने तयारी रहेको छ ।
एमालेमा भीम रावल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट वा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रवीन्द्र अधिकारी, रघुवीर महासेढसहितका नेताको नाम चर्चामा छ ।
यसैगरी माओवादीमा वर्षमान पुन, रामबहादुर थापा बादल, जनार्दन शर्मा, देव गुरुङ, मात्रिका यादव, पम्फा भुषालसहितका नेताको नाम चर्चामा रहेको छ । अरु नेताहरु पनि आफू मन्त्री बन्ने कसरतमा लागेका छन् । त्यसका लागि बुधबार बिहानैदेखि नेताहरु छलफलमा जुटेका छन् ।