
पछिल्लो समय रियल मड्रिडले आफ्नो पुरानो लय समात्दै गएको छ । घरेलु लिगमा यो सिजन लगभग आधा समय जाँदासम्म कमजोर देखिएको रियल मड्रिड पछिल्ला खेलमा प्रभावशाली प्रदर्शन गर्दै आएको छ ।
स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले लेगानेसलाई ३–१ ले हराएको छ ।
अवे मैदानमा भएको खेलमा रियल मड्रिड स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिना नै खेलेको थियो । रोनाल्डोलाई यो खेलमा आराम दिइएको थियो ।
यस्तै ग्यारेथ बेल पनि बेन्चमा रहेका थिए । सुरुमा अप्रत्यासित रुपमा पछि परेको रियल मड्रिड त्यसपछि खेलमा फर्किएको हो । छैटौँ मिनेटमा बसटिन्जाले गोल गर्दै लेगानेसलाई अग्रता दिलाए ।
११ औँ मिनेटमा लुकास वाज्क्वेजले रियल मड्रिडका लागि बराबरी गोल फर्काए । २९ औँ मिनेटमा कासमेइरोले गोल गरेपछि पहिलो हाफमा रियल मड्रिडले २–१ को अग्रता लियो ।
यस्तै खेलको अन्तिम अर्थात ९० औँ मिनेटमा पाएको पेनाल्टीमा सर्जियो रामोसले गोल गरेपछि जिनेदिन जिदानको टिम रियल मड्रिडले ३–१ को प्रभावशाली जित निकाल्यो ।
जितपछि तेस्रो स्थानमा उक्लिएको रियल मड्रिडको २४ खेलबाट ४८ अंक भएको छ । उ शीर्ष स्थानको बार्सिलोना भन्दा १४ अंकले पछि रहेको छ । यस्तै दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा सात अंकले पछि रहेको छ ।
स्पेनिस जाइन्ट रियलले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पिएसजीमाथिको ३–१ को जितसहित पछिल्ला चार खेल जितेको छ ।