
काठमाडौं – विश्वव्यापी रुपमा सुशासनको क्षेत्रमा काम गर्दै आएको तथा त्यस बारेमा अध्ययन गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले वर्ष २०१७ को भ्रष्टाचार सूचकांक प्रकाशित गरेको छ ।
प्रकाशित करप्सन पर्सेप्सन इन्डेक्स २०१७ मा दुई तिहाई भन्दा बढी देशले ५० भन्दा कम अंक पाएका छन् । १८० देशमा गरिएको अध्ययनबाट विश्वका धेरै देशमा अझै पनि भ्रष्टाचार बढी देखिएको छ ।
विशेषज्ञ तथा व्यवसायीले शून्यदेखि १०० सम्मको आँकडा बनाएर भ्रष्टाचारमा देशहरुको सूचि तयार पारेका हुन् ।
कम भ्रष्टाचार भएका देश
ट्रान्सपरेन्सी इन्टरनेशनलले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसर पारेर सार्वजनिक गरेको सूचिमा धेरै देशले भ्रष्टाचार कम गर्ने क्षेत्रमा निकै कम वा कुनै प्रगति नै गरेका छैनन् ।
तर यो वर्ष न्युजिल्याण्ड र डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने देशमा परेका छन् । न्युजिल्याण्डले ८९ अंक पाएको छ भने डेनमार्कले ८८ अंक पाएको छ । गएको वर्ष भन्दा न्युजिल्याण्डको एक तथा डेनमार्कको दुई अंक कम भएको हो ।
८५ अंकसहित फिनल्याण्ड, नर्वे र स्वीट्जरल्याण्ड तेस्रो स्थानमा छन् । यस्तै त्यसपछि ८४ अंकसहित सिंगापुर र स्वीडेन, क्यानडा, नेदरल्याण्डस, बेलायत र लग्जेम्बर्गको ८२ अंक रहेको छ । यस्तै जर्मनीले ८१ अंक पाएको छ ।
भ्रष्टाचार बढी भएका देश
एक सयमा ९ अंक मात्रै पाएको सोमालिया यो वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा परेको छ । यस्तै १२ अंक रहेको दक्षिणी सुडान र १४ अंक रहेको सिरिया पुछारबाट दोस्रो र तेस्रो स्थानमा छ ।
दक्षिण एसियाली देश अफगानिस्तान पनि बढी भ्रष्टाचार हुने देशमा परेको छ । यसरी यमन, सुडान, लिबिया, उत्तर कोरिया, गिनी बिसाउ, इक्वेटोरियल गिनी, भेनेजुएलासहितका देशमा पनि बढी भ्रष्टाचार रहेको देखिएको छ ।
नेपालको अवस्था
भ्रष्टाचारमा नेपालको अवस्था गएको वर्ष भन्दा केही सुधार भएको देखिए पनि बढी भ्रष्टाचार हुने देशमै छ । नेपालले मात्रै ३१ अंक पाएर १२२ औँ स्थानमा छ । गएको वर्ष नेपालले २९ अंक पाएको थियो ।
४० अंक पाएको छिमेकी देश भारत ८१ औँ स्थानमा छ । अर्को छिमेकी देश चीन ४१ अंकसहित ७७ औँ स्थानमा रहेको छ । २८ अंक पाएको बंगलादेश १४३ औँ स्थानमा छ । नेपालको भन्दा एक अंक बढी रहेको पाकिस्तान ११७ औँ स्थानमा रहेको छ ।
३३ अंकसहित माल्दिभ्स ११२ औँ, ३८ अंकसहित श्रीलंका ९१ औँ तथा ६७ अंकसहित भुटान २६ औँ स्थानमा छ ।
दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार भुटान तथा बढी अफगानिस्तानमा रहेको देखिएको छ ।