इन्द्रदहमा परेको ओलीको नजर, फेरिएला मुहार !

इन्द्रदहमा परेको ओलीको नजर, फेरिएला मुहार !
+
-

काठमाडौं – राजधानीकै नगर, व्यस्त सहरसँगै जोडिएको तर उक्लिएको केही मिनेटमा देखियो साँघुरो,ज्यानै धरापमा पर्ने असरल्ल ढुंगा सहितको धुलाम्मे कच्ची बाटो।

बाटोको बारेमा प्रष्ट जानकारी नहुँदा साथीको मोटरसाइकल पछ्याउन थाले। जति स्कुटर अघि गुड्दै गयो, उति डर लाग्दो ठाडो उकालो ।

यसैबीच खल्ड्याङखुल्डुङको आवाजबाट विचलित नहुन रोकिएर ‘इयरफोन’ लगाएँ ।

सानेपा, कलंकी, दहचोक हुँदै उक्लिसकेकाले फर्कन अर्थहीन लाग्यो। कठीन देखिएपनि अघि बढ्नु नै उचित लाग्यो।

प्रधानमन्त्री केपी शर्मा ओली आउने सुइँको पाएपछि उनलाई स्वागत गर्न ठाँउठाउँमा झुम्मिएर बसेका थिए स्थानीय ।

उनीहरुले पनि सहज बनाइदिए गन्तव्यतर्फ सोझिन। तर हामी भने उनीहरुलाई नै धुलो खुवाउँदै हुइकिँरह्यौं ।

त्यसो त बाटोको दुवै छेउ रहेका सुरक्षाकर्मीले पनि संकेत गरिरेहका थिए अगाडी बढ्न।

बेलाबेलामा साथीहरु भन्थे, ‘ओ हो सकिन्‍न क्या हो ।’ तर पनि अघि बढ्नुको विकल्प थिएन।करिब ७ किलोमिटरको दूरी छिचोल्न झण्डै दुई घण्टा लाग्यो ।

तर इन्द्र दह डाँडा पुगेपछि त्यहाँबाट देखिएको  प्रकृति मनोरम दृश्‍य  र सुन्दरताले केही बेर अघिको सास्ती भुलायो ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न बाजागाजा, मौलिक भेषभूषा सहित हातभरि फूलका माला र लालीगुराँस लिएर डाँडैभरि छपक्कै भएका स्थानीयका बीचबाट आँखा डुलाउँदा मन रोमाञ्चित भयो।

उत्तरतर्फ खुलेको निलो आकाशलाई चुम्नै लागे झैं देखिने निलगिरी, मनासलु, गणेश, लाङटाङ, गौरीशंकर लगायत विश्व प्रसिद्ध हिमालको सुन्दरता देख्दा अपत्यारिलो लाग्यो ।

तर, त्यहाँबाट पूर्व नियाल्दा धुमिल र अव्यवस्थित राजधानी र कंक्रिट जंगल देख्दा खिन्न बनेको मन कान्लाहरु उक्लिँदै डाँडाको टुप्पोमा कालु पाँडेको समाधीस्थल देखेपछि एकाएक नेपाल निर्माणको इतिहासतर्फ मोडियो।

झण्डै तीन सय वर्ष पहिले पाटनका राजा योगनरेन्द्र मल्लले निर्माण गरेको इन्द्र दहबाट राष्टनिर्माता पृथ्वीनारायण शाह मात्रै होइन उनका विश्वासिला सेनापति कालु पाँडे समेत लोभिएका थिए।

नेपाल एकीकरणका सिलसिलामा नुवाकोटको विजयपछि शाहाका आँखा सामरिक महत्वको कीर्तिपुरमा पुग्यो।

त्यसलाई आफ्नो बनाउन शाह र पाँडेले इन्द्रदहमै किल्ला जमाए तर कीर्तिपुरमाथि जित हासिल गर्नू पूर्व नै पाँडेले लडाईमा वीरगती प्राप्त गरे। पाँडेको इच्छा अनुसार उनको शीरलाई गोरखा र काठमाडौं दुवै देखिने इन्द्र दहमै समाधिस्थ गरिएको थियो।

आफ्ना दाहिने हात पाँडेलाई गुमाउदाको पीडासँगै शाहले तेस्रो प्रयासमा कीर्तिपुर जित्न सफल भएका थिए। त्यस्तो मार्मिक इतिहासको साक्षी बनेको इन्द्र दह क्षेत्रमा अरु पनि ऐतिहासिक र धार्मिक सम्पदाहरु छन् ।

१६०० मिटरको उचाईमा रहेको यस क्षेत्रको जंगल सफारी, बनभोजस्थल र पत्रयात्रा आकर्षक छन्।

शाहकै पालामा बनेका हतियार राख्ने कोत घर, सात वटा गढी, मनकामना मन्दिर, थोरै तल रहेको इन्द्र दह (पोखरी), इन्द्र—इन्द्रायणीको मन्दिर, नारायण मन्दिर, भश्मेस्वर महादेव मन्दिरले इन्द्र दह क्षेत्रको शोभा बढाएका छन्।


तर यी धार्मिक एवं ऐतिहासिक सम्पदा संरक्षणविहीन अवस्थामा छन् । प्रचारप्रसारको अभाव त छँदैछ संरक्षणका लागि तर्जुमा गरिएका योजना पनि कार्यान्वयन हुन सकेको छैन।

त्यसमाथि पनि तीन वर्ष अघि गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेका कतिपय धार्मिक र एैतिहासिक सम्पदाको पुनर्निर्माणप्रति सरोकारवाला निकाय गम्भीर नदेखिएकोे गुनासो पोख्‍ने धेरै भेटिए ।

छुट्टै ऐतिहासिक र धार्मिक पहिचान बोकेको इन्द्र दह क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न अवरोध बनेको थियो त्यही कच्ची सडक जहाँबाट म पनि उक्लिएको थिएँ। स्कुटर पनि डाँडामा पुगे देखेर स्थानीय आश्चर्यमा परे।

उनीहरु आश्चर्यमा पर्नु स्वभाविक नै थियो, त्यो बाटोमा यसअघि उनीहरुले जीप र मोटर साइकल मात्रै कुदेको देखेका थिए। थानकोट दहचोकमा जोडिएको त्यो बाटोमा सार्वजनिक यातायात नचल्दा पैदल उकालो ओरालो गर्न बाध्य छन् उनीहरु।

त्यही बाटो हुँदै कार्गेडसहित पुगेका प्रधानमन्त्री ओलीले त्यो बाटोको स्तरउन्नती गर्नु पर्ने आवश्यकता महसुस गरे की गरेनन् त्यो भविष्यले नै बताउँला। यद्यपि त्यहाँ आयोजित पर्यटन महत्सवलाई संवोधन गर्दै उनले आफ्ना पाइला दिन ढाल्न नभई विकासका लागि चाल्ने र त्यसैका लागि यहाँ आइपुगेको बताए।


भाषणका क्रममा इन्द्र दहको महत्वलाई लिएर धेरै समय खर्चिएका ओलीले यस क्षेत्रको विकासका लागि के कस्ता ठोष कार्य गर्ने छन् त्यसको व्यग्र प्रतिक्षामा छन् स्थानीय।कालु पाँडेको समाधिस्थल आसपासको क्षेत्र संरक्षणको अभावमा उजाड बन्दै गएको देखिन्छ। त्यसकारण धुलाम्मे बनेको थियो कार्यक्रम स्थल पनि।

धूलोबाट बच्न चाहन्थे ओली तर पाँडेको समाधीस्थलसम्म कार्गेड नपुगेपछि उनले पनि धूलो खान बाध्य भए, जुन स्थानीयका लागि नियतिनै बनेको छ।

यस क्षेत्रको पर्यटन प्रर्वद्धर्नका लागि इन्द्रदह एकीकृत पयर्टन विकास समिति समेत गठन गरिएको रहेछ।

तर खासै काम हुन नसकेको गुनासो धेरै सुनियो त्यहाँ । तर समितिका अध्यक्ष हरिशरण शर्माले यस क्षेत्रको विकास गर्न पहिले भन्दा धेरै सफल भएको दावी गर्दै थिएँ ।

उनी पनि बाटोको स्तरोन्नती गरेमा मात्र यो क्षेत्रमा पर्यटक भित्राउने सपना साकार हुनेमा सहमत देखिए।

२० वर्ष तत्कालिन प्रधानमन्त्री गिरीराजा प्रसाद कोइराला नै पुगेर यो क्षेत्रलाई पर्यटनको नमूना बनाउने भन्दै गरेको घोषणा कागजमै सिमित भएको यथार्थकाबीच त्यो सपना साकार हुनेमा आफुलाई विश्वस्त बनाउन सकिन।


गत वर्ष फागुन नौ गते पाँडेको समाधिस्थलमा माल्यापर्ण गरेपछि त्यसको ठिक एक वर्ष पछि ओली यहाँ आइपुगेका थिए, वाचा पुरा गर्न र अर्को वर्ष पनि ठिक यही मितिमा यहाँ आउने वाचा गर्दै फर्किएका छन्।

ओलीले इन्द्र दह क्षेत्रलाई प्राथमिकतामा राखेको देख्दा स्थानीय केही आशावादी देखिएका छन्।

तर विदाइको हात हल्लाउन आएकी एक महिलाले राजधानीमा जन्मिएर पनि दुर्गमको नियति भोग्‍नुपरेको भन्दै सुनाएको पीडा रिपोर्टिङ जाजरकोटका गाउँमा पुग्दा त्यहाँका महिलाले सुनाएको व्यथा भन्दा कम खासै फरक लागेन।

‘बाटोघाटो राम्रो छैन भएको बाटोमा पनि सार्वजनिक गाडी चल्दैन, पानी लिन घण्टौं धाउनु पर्छ नत स्वास्थ्य चौकी नजिक छ। के भाग्मानी ठान्ने आफुलाई राजधानीमै बसेर?’ ती महिलाको यो वाक्य कानमा गुञ्‍जिरह्यो तल झर्दासम्म।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?