
बिहेको तयारीमा रहेका बेलायती राजकुमार ह्यारी र उनकी फियोन्सी अमेरिकी अभिनेत्री मेगन मर्केललाई पठाइएक एक चिठ्ठी रंगभेदी घृणाको अपराध रहेको प्रहरीले जनाएको छ ।
राजकुमार ह्यारी र मेगन बस्दै आएको सेन्ट जेम्स प्यालेसको ठेगानामा ह्यारी र मेगनका लागि एउटा चिठ्ठी आएको थियो । त्यसभित्र सेतो पाउडर थियो । यो चिठ्ठी फेब्रुअरी १२ मा आएको हो ।
चिठ्ठीमा ह्यारी र मर्केललाई सम्बोधन गरिएको थियो । त्यसको एक दिनअघि वेष्टमिनिस्टरमा पनि अज्ञात समूह वा व्यक्तिले सेतो पाउडरको प्याकेट पठाएका थिए ।
पाउडर हानिकार भने नरहेको प्रहरीले जनाएको छ । तर वेष्टमिनिस्टर र सेन्ट जेम्स प्यालेसमा पठाउने एउटै समूह हो वा फरक भन्ने थाहा भएको छैन । अहिलेसम्म घटनासँग सम्बन्धित भएर कोही पनि पक्राउ परेका छैनन् । अनुसन्धान भइरहेको मेट प्रहरीले जनाएको छ ।
यो घटना रंगभेदी र घृणाको अपराध रहेको प्रहरीले बताएको छ । ह्यारीले सन् २०१६ मा मर्केलसँगको सम्बन्धका बारेमा बताएपछि सामाजिक सञ्जालमा मर्केललाई निशाना बनाएर रंगभेदी टिप्पणी भएका थिए । राजकुमार ह्यारी र मर्केलबिच यो वर्ष बिहे हुँदैछ ।