
नेपालगञ्ज – भेरी अञ्चल अस्पताल, नेपालगञ्जको पुरानो भवनको उत्तर–पश्चिम कुनामा एचआइभी/एड्स तथा यौन रोग नियन्त्रण कार्यक्रम लेखिएको बोर्ड लागेको छ। त्यसैको तल ‘एआरटी सेन्टर’ लेखिएको सानो बोर्ड झुण्डिएको छ।
त्यहाँबाट भित्र छिरेपछि स्वेच्छिक परामर्श तथा परीक्षण सेवा र ‘पीएमटीसिटी’ जाने बाटो एरोले देखाएको छ। बोर्डहरु देखिने गरी राखे पनि त्यहाँ सेवा लिन आउनेहरु ‘गोप्यता’ चाहन्छन्। कसैले उनीहरुलाई नचिनुन् भन्ने ठूलो ख्याल राखिन्छ। पढेलेखेकाहरु अझ बढी गोप्यता खोज्दा रहेछन्।
केही दिनअघि एक अधवैसे जोडी आमादेखि बच्चामा एचआइभी जानबाट रोक्ने प्रविधि (पीएमटीसिटी) को सेवा लिन आए। बाँकेका यी जोडी संक्रमित हुन्। उनका तीन सन्तान पहिला नै छन्। कान्छी छोरीमा एचआइभी संक्रमण छ। तीन छोरीका अभिभावक उनीहरु छोराको आशाले अर्को सन्तान जन्माउने तरखरमा छन्। उनीहरु चिकित्सकको नियमित सम्पर्कमा छन्।
चिकित्सकको सल्लाह र सुझाव अनुसार नियमित ‘एआरटी’ सेवा लिएर अघि बढ्दा संक्रमितले जन्माएको बच्चा धेरै नै ‘नेगेटिभ’ हुने गरेको छ। एआरटी सेवा लिएका संक्रमित आमाले बच्चा जन्माउदा ५ देखि २० प्रतिशतमात्रै बच्चा संक्रमित हुने जोखिम रहने चिकित्सकहरु बताउँछन्। यो सेवा भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा २०६२ सालदेखि सञ्चालनमा छ।
गोप्यमा एआरटी सेवा लिन आउनेहरु बाँकेमा ४ सय १८ जना छन्। पीएमटीसिटीको फाइदा लिनेहरु दिनप्रति दिन बढिरहेका छन्। चालु आर्थिक वर्षमा पाँच जना संक्रमितहरु पीएमटीसिटी सेवा लिन आएका छन्। तीमध्ये दुई जनाको अवधि नपुग्दै बच्चा खेर गयो। एकजनाले स्वच्छ बच्चा जन्माएकी छन्। उनको यो दोस्रो बच्चा हो। दुई जना गर्भवती अवस्थामा छन्। गर्भवतीहरुले चिकित्सकको सल्लाह अनुसार औषधी खाइरहेका छन्।
भेरी अञ्चल अस्पतालमा पछिल्लो तीन वर्षमा १६ जना संक्रमित आमाले बच्चा जन्माए। त्यसमा एक बच्चामात्रै ‘पोजिटिभ’ भएको एआरटी काउन्सिलर इन्द्र सैनीले बताए। उनका अनुसार, ती आमा संक्रमित रहेको कुरा सुत्केरी गराउनु अघिमात्रै थाहा भएको थियो। ‘नियमित औषधी खानेहरुले जन्माएको बच्चा नेगेटिभ नै जन्मिाएको छ, अन्तिम अवस्थामा आएर संक्रमित रहेको थाहा पाउने आमाले जन्माएको बच्चा पोजिटिभ देखिएको छ,’ सैनीले भने।
संक्रमितलाई बाँचुन्जेल ‘टीडीएफ थ्रीडीसी इएफभी’ नामक औषधी दिनको एकपटक खुवाइन्छ। त्यस्ता आमाले जन्माएको बच्चालाई पनि जन्मेको ७२ घण्टाभित्रै ‘प्रोफाइल एक्सिस’ नामक औषधी खुवाइन्छ। नियमित औषधी खुवाएर बच्चालाई १८ महिनापछि नेगेटिभ/पोजिटिभ जाँच गरिन्छ। भेरीमा सबैको रिजल्ट राम्रो आएको छ।
भेरीमा यो सेवा शुरु भएपछि संक्रमित रहेका आमाबाबुले पनि स्वस्थ सन्तान जन्माउन पाएका छन्। आफ्नो कुलतले गर्दा संक्रमित भएका आमाबुवाले सन्तान स्वस्थ हुँदा खुशी हुने मौका पाएका छन्। २०६२ यता ६३ जनाले सेवा लिएका छन्।
भेरी अञ्चल अस्पताल, नेपालगञ्जका एआरटी फोकलपर्सन डा. संकेत रिसालले चिकित्सकको सल्लाह अनुसार अघि बढ्नेहरुको नतिजा राम्रो आएको बताए।
चिकित्सकहरुले सकेसम्म संक्रमितहरुलाई बच्चा नजन्माउन सुझाव दिने गर्दछन्। सन्तान चाहियो भन्नेहरुलाई पीएमटीसिटी सेवा लिन सुझाव दिने गरेका छन्।