
के तपाईँ कहिले स्पीति जानु भएको छ? यो देश (भारत) को हिमालयको पहाडी इलाकामा रहेको एक खोँच हो जहाँ धेरै कम मानिसहरु हुन्छन्। यहाँ मोबाइल नेटवर्क हुँदैन, यही कारण म यहाँ जान्छु। म यहाँ स्वतन्त्र र सम्पूर्ण रुपमा आफूसँग जिउन जान्छु।
हामी दुई युवा महिला थियौं र हामीसँग थिए हाम्रो ड्राइभर। मलाई आज पनि त्यो रात याद छ, जब कागजको कपमा उसले देसी रक्सी पिउन दिएको थियो। हामीले त्यसबेला त्यो कडा विषसमान रक्सी अलिकति पियौं। किनभने त्यो गर्न हामीलाई मज्जा आयो। म कारको छतमा बसेको थिएँ र चिसो हावाको सिरेटोले मेरो शरीर र आत्मालाई एक्कैपटक सुम्सुमाइरहेको थियो।
३० वर्ष पुग्नुभन्दा पहिला विवाह गर्ने वाला मध्यम वर्गीय कोही पनि महिलाको लागि यो सब लगभग असम्भव थियो। केही थाहा नभएको बाटो, नचिनेका मानिसहरुबीच, आफ्नो श्रीमानको नजर र आफ्नो घरको चिन्ताबाट टाढा। तर मैले यो यसकारण मात्र गरेको थिएन कि मलाई मज्जा आएको थियो। एक–दुई वर्षमा आफ्नो घरबाट टाढा यस्तो ठाउँ जहाँ मोबाइल नेटवर्क नहोस्, यस्तो गर्नुको पछाडि मेरो आफ्नै कारण छ।
म र मेरो श्रीमान दुवै जना कलाकार हौँ र घुम्ने हामी दुवै जनाको सौख। तर जब हामी सँगै कहीँ घुम्न निस्किन्छौँ, मेरो श्रीमान् मलाई आफ्नो जिम्मेवारी सम्झिन्छन्। जति पनि निर्णय हुन्छन्, त्यो सबै उनकै हुन्छन्। कुन गाडीमा जाने, कतिबेला निस्कने, कहाँ कुन होटलमा बस्ने, सुरक्षा आदि सम्पूर्ण। उनी मसँग सल्लाह त लिन्छन् तर निर्णय भने आफ्नै तरिकाले गर्छन्।
होटलको कोठामा म जानु भन्दा पहिला उनी आफैँ गएर चेक गर्छन। उनी पहिला होटलको मेन्यु कार्ड समाउँछन् अनि मलाई सोध्छन् कि के चाहियो! ताला लगाउनेदेखि लिएर सामान उठाउनेसम्म सबै काम उनी एक्लैले निर्णय गर्छन।
म एक जिम्मेवारी हुन्छु उनको लागि र उनी फैसला गर्नेवाला, बस् अब त अति नै भयो।
साँचो भनौँ भने मलाई आराम चाहिएको थियो। मेरो छोराको जन्म भएपछि मलाई यसको असाध्यै आवश्यकता महसुस भयो। मेरो काम गर्ने र मेरो बाहिर जाने काम परेको रहेको थियो। तर ठीक उल्टो मेरो श्रीमानको लागि सबै पहिलाको सोच र निर्णयहरु उस्तै थिए।
यो सब देखेर मैले सोचेँ- अब म एक्लै नै बाहिर जान्छु। हामी दुईले यो कुरा मानेका थियौं की उनी केही दिनको लागि घरमा बस्ने र बच्चाको हेरचाह गर्नेछन्। श्रीमान बिनाको यो मेरो पहिलो यात्रा थियो। यो धेरै हदसम्म पहिला नै प्लान गरिएको थियो। तर पनि उनी हरेक १ वा २ घण्टामा फोन वा म्यासेज गर्थे र सोध्ने गर्थे म कहाँ के गर्दै छु? के त्यहाँ धेरै गाडीको भीड छ? यस्तै यस्तै….
मलाई थाहा छ की यो मेरो सुरक्षाकै लागि थियो। तर, केही समयको अन्तरालमा हरेकपटक जानकारी दिँदा–दिँदा म हैरान भैसकेको थिएँ।
मलाई लाग्यो कि म माथि निगरानी हुदैछ, मेरो यात्राको हर एक कुराको निगरानी हुँदैछ। र, यस कारण मैले यस्तो ठाउँको बारेमा खोजी सुरु गरे जहाँ मोबाइल नेटवर्क नहोस् जसले मलाई यी सबैको बेलिविस्तार लगाइ रहनु नपरोस घण्टा घण्टामा।
यो कुरा साँचो हो कि म एक मध्यम वर्गीय परिवारको सदस्य हुँ र बिहे भइसकेको अधवैशे महिला हुँ जसको सात बर्षको छोरो छ। तर के यही मेरो पहिचान हो? एक श्रीमती र आमा? के यस्तो कुनै नियम छ र बिहे भएको महिलाले आफ्नो श्रीमानसँग मात्र घुम्न जानुपर्छ ?
जब मैले पहिलो पटक एक्लै घुम्न जाने निर्णय गरेँ, मेरो सासुलाई यो कुरा ठीक लागेन। तर मेरो श्रीमान् समझदार छन्, उनलाई थाहा छ कि म एक्लै घुम्न जान किन जरुरी छ? उनले मेरो सासुलाई सम्झाए र सासुले मेरो एक्लै घुम्न जानेको विरोध गरिनन्।
मेरो आफ्नो आमा पनि अझैसम्म ‘मेरो आफ्नो समय’को मेरो विचारको सम्पूर्ण रुपमा स्वीकार गर्न सकेकी छैनिन्। यस पटक एक्लै घुम्न जाने कुरा मैले उनलाइ बताइन। पछि उनले फोन गरिन् र सोधिन्, ‘तिमी कहाँ छौ? म हिजोदेखि तिमीसँग कुरा गर्न कोशिस गरिरहेको छु।’
जवाफमा मैले भने, ‘आमा म यात्रामा बाहिर छु।’
यति भनिसक्दा उताबाट प्रश्न आयो।
‘फेरि पनि? किन? कहाँ?’
‘हो, बस् यत्तिकै….. बस् थोरै आराम चाहिएको थियो। यस पटक रोड यात्रामा निस्किएको छुु’ मैले भनेँ।
उनले फेरि सोधिन्, ‘ठिक छ, तिम्रो बच्चा र उनको बुवालाइ कस्तो छ?’
‘राम्रो छ। उनीहरु मेरो साथमा छैनन्। उनीहरु घरमा छन्,’ मैले भनेँ।
‘हे भगवान ! कस्तो आमा हो तिमी? तिमी एक सानो बच्चालाई यत्तिकै छाडेर कसरी घुम्न जान सक्छौ? उसलाई कस्तो लाग्छ होला। मलाई थाहा छैन तिमीलाई तिम्रो सासुले कसरी जान दिइन्?’ उनले भनिन्।
मैले प्रश्न गरेँ, ‘आमा के हजुर चाहनु हुन्छ कि म एउटा किलामा बाँधिएर बसौं?’
यो कुनै नयाँ कुरा थिएन, जब म एक्लै घुम्न निस्कन्थेँ, केही न केही यस्तै भइरहन्थ्यो। मलाई लाग्दैन कि उनीहरु यो कुरामा सहमत छैनन्। तर सायद उनीहरुलाई ‘मेरो आफ्नो समय’को मेरो आवश्यकता भन्दा डर यो छ की मान्छेहरु के भन्लान्, के सोच्लान्।
म आफूमा आफूलाई खोज्दै एक्लै नै निस्कन्छु। म मेरो परिवारको चिन्ता गर्छु साथै म आफनो चिन्ता पनि गर्छु। जहिले पनि घुम्न निस्कन्छु म आफनो ख्याल राख्छु। जब म यसरी एक्लै बाहिर घुम्न निस्कन्छु मेरो जिम्मेदारी र फैसला सबै मेरो हुन्छ। म सुरक्षित रहन्छु तर नयाँ केही गर्ने साहस पनि गर्छु। म यो समयमा एक अलग महिला हुन्छु।
हामीलाई स्पीति लिएर जाने ड्राइभर जसले हामीलाई देशी रक्सी पिउन दिएको थियो। ऊ हेर्दा ह्याण्डसम थियो, मलाई उसँग कुरा गर्न र रक्सी पिउन मज्जा आयो। उसले धेरै राम्रो पहाडी गीत गायो।
गत वर्ष जब म आफनो महिला साथीहरुसँग घुम्न गएको थिए, हाम्रो ड्राइभरले होटलमा छोडेको थियो र सोधेको थियो, ‘अरु केही आवश्यकता पर्छ तपाईहरुलाई?’
म अझै पनि यो सोचेर हाँस्छु कि त्यसको मतलब के थियो? उसले हामीलाई रक्सीको लागि सोधेको थियो वा जिगोलो (पुरुष वेश्या) को लागि सोधेको थियो।
यस्तो प्रकारको अनुभव र खास जिन्दगीका यिनै मानिससँग तपाईको भेट तब हुन्छ, जब तपाईँ आफूमाथि लागेको विवाहरुपी धब्बालाई हटाइ दिनुहोस् वा केही दिनको लागि मात्र एक महिला देखिनुहोस्, कसैको आमा वा कसैको श्रीमती होइन।
(यो कथा पश्चिम भारतमा बस्ने एक महिलाको हो जोसँग बीबीसीकी संवाददाता अरुन्धति जोशीले कुराकानी गरेकी हुन्। महिलाको आग्रहमा उनको नाम गोप्य राखिएको छ। देशसञ्चारले यो सामग्री बिबिसीबाट अनुवाद गरेको हो।)