
भक्तपुर-भक्तपुर र बबरमहलमा अप्टिकल फाइबरको लाइन काटिएपछि पाँच जिल्लामा सञ्चार सम्पर्क विच्छेद भएको छ।
भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोला र काठमाडौँको बबरमहलमा पुल निर्माणका क्रममा अप्टिकल फाइबरको लाइन काटिएपछि शुक्रबार साँझदेखि टेलिफोन र आज बिहान १० बजेदेखि मोबाइल सेवा अवरुद्ध भएको छ।
नेपाल टेलिकम भक्तपुरका कार्यालय प्रमख कामता श्रेष्ठले पुल निर्माणका क्रममा अप्टिकल फाइबर चुँडिएपछि सञ्चार सम्बन्ध विच्छेद भएको बताए।
राधेराधेबाट प्राविधिक टोलीले अप्टिकल फाइबरको लाइनलाई वैकल्पिक प्रविधिबाट अपराह्न २ बजेदेखि मोबाइलको लाइन सञ्चालन गरेको उहाँले जानकारी दिए।
अप्टिकल फाइबर चुँडिएपछि भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा ल्याण्डलाइन फोन र मोबाइल सेवा अवरुद्ध भए पनि भक्तपुरमा मात्रै मोबाइल सेवा सञ्चालन भएको छ। अन्य जिल्लामा भने सबै सेवा अवरुद्ध छ। मोबाइल सेवा खुलाउने प्रयास भइरहेको बताइएको छ।