
फिल्म ‘चालबाज’को एक दृश्यमा रजनीकान्त श्रीदेवीसँग हैरान भएर व्यंग्य गरेर भन्छन्, ‘यो दिनदिनै नाच्ने गाउने तैँले सक्ने कुरा होइन।’
त्यतिबेला श्रीदेवीले भनेकी थिइन्, ‘तँलाई म पूरै भारतकै स्टार बनेर देखाउँछु।’ साँच्चै नै असली जिन्दगीमा पनि उनले गरेरै देखाइदिइन्। यो कुरा स्वयम रजनीकान्तलाई पनि आभास भयो होला र भारतलाई त भएकै छ।
वास्तविक नाम श्री अम्मा यङगर अयप्पन अर्थात श्रीदेवी जो फिल्मकै लागी जन्मिएकी थिइन्। जसले ४ बर्षको उमेरबाट फिल्म खेल्न सुरु गरिन र जिन्दगीको ५४ बर्षमा ५० वर्ष फिल्ममा बिताइन्।
‘जब हवा–हवाइ गीतको सुटिङ गरिरहेको थिएँ म दोधारमा परेँ कि क्लोजअप सट लिऊँ कि वा टाढाबाट सुट गरौँ।’ श्रीदेवीसँग फिल्म ‘मिस्टर इन्डिया’मा काम गर्ने बेलाको आफ्नो अनुभव यसरी बयान गरेका थिए निर्देशक शेखर कपुरले।
‘उनको अनुहारको भाव, उनको आँखा यति मोहक थिए की लाग्थ्यो उनीलाई नै हेरिरहूँ जुन नजिकबाट मात्र सम्भव थियो। तर यसमा उनको नृत्य छुटिहाल्थ्यो। उनको नृत्य यति राम्रो थियो कि लाग्थ्यो टाढाबाट क्यामेरामा हर एक अदा कैद गरुँ।
चलचित्र ‘सदमा’ की त्यो २० वर्षकी केटी जसले पुरानो जिन्दगी भुलिसकेकी छे र ७ बर्षकी मासुम एक सानी बालिकाजस्तै कमल हसनको साथमा उसको घरमा बस्छे।
रेल स्टेसनको त्यो दृश्य, जहाँ पुरानो स्मृति फर्किएपछि ट्रेनमा बसेकी श्रीदेवी कमल हसनलाई भिखारी सम्झिएर नदेखे झैँ जसरी आफ्नो बाटो लाग्छे र कमल हसन बच्चा जस्तै गरेर श्रीदेवीको स्मृति फर्काउने विभिन्न प्रयास गर्छन, सायद हिन्दी चलचित्रको सुन्दर दृश्य मध्ये एक हो यो।
एक एउटा प्रतिभाशाली अभिनेत्री जो आमाको भूमिकामा पनि उत्तिकै सुहाउने र सानो बालिकाको भूमिकामा पनि। आफूभन्दा दुई गुणा बढी उमेर भएको व्यक्तिसँग प्रेम गर्न साहस गर्ने ‘लम्हे’ की पूजा वा एकै चलचित्रमा नरम र कडा बानी भएका दुई बहिनीको भूमिका निभाउने ‘चालबाज’की मन्जु र अन्जु।
वा भनौ पछिल्लो चलचित्र ‘मम’ मा आफ्नो छोरीको बलात्कारको बदला लिन निस्केकी आमाको त्यो रुप जो प्रश्न गर्छे, यदि गलत या धेरै गलतमा छान्नु परे तपाई कुनलाई छान्नुहुन्छ?
अलग-अलग फिल्ममा केही यस्तो थियो श्रीदेवीको जादु…..
श्रीदेवीले बाल कलाकारको भूमिकाबाट चलचित्र क्षेत्रमा पाइला चालिन् १९६७ मा। त्यतिबेला उनको उमेर मात्र ४ बर्ष थियो। तमिल चलचित्र ‘थुनाइवान’मा। त्यसपछि श्रीदेवीले ७०को दशकमा बाल कलाकारको भूमिकामा केही फिल्ममा समेत काम गरिन्।
दक्षिण भारतीय चलचित्रमा काम गरेपछि उनको यात्रा भारतीय चलचित्रको मुलधार मानिने बलिउडमा आगमन हुन्छ। सन् १९७५ को चर्चित फिल्म ‘जुली’मा अभिनेत्री लक्ष्मीको बहिनीको भूमिकामा उनले काम गरिन्। त्यो पनि बाल कलाकारकै भूमिकामा।
त्यसको चार वर्षपछि, सन् १९७८ मा मुख्य कलाकारको भूमिकामा चलचित्र ‘सोह्र सावन’ बाट बलिउडमा उनको आगमन हुन्छ। ८०को दशक, हिन्दी फिल्ममा अभिनेत्रीको तर्फबाट श्रीदेवीको दशक भन्ने गरिन्छ, बलिउड वृत्तमा।
उनले हिम्मतवाला, तोफा, मिस्टर इन्डिया, नागीन जस्ता चलचित्र दिइन् हिन्दी फिल्म उद्योगलाई। त्यसपछि उनलाई लेडी अमिताभ बच्चन भन्न थालियो।
श्रीदेवीलाई हिन्दी चलचित्रको पहिलो महिला सुपरस्टार मानिन्छ तर उनले तमील चलचित्रमा सबैभन्दा पहिला सुपरस्टार रजनीकान्तसँग सन् १९७६ मा काम गरेकी थिइन् जसमा कमल हसनको पनि भूमिका थियो।
जब सन् १९७८ मा भारती राजाको हिन्दी चलचित्र ‘सोलहवाँ सावन’ पर्दामा आयो, सायदै कसैको आँखा फिल्ममा पर्यो होला। बस्, सबैले श्रीदेवीलाई नै हेरि रहे। त्यो समय श्रीदेवीको तौल करिव ७५ किलो थियो, त्यसैबेला कतिपयले उनलाई ‘थंडर थाइज’ भन्ने गर्थे। १९८३ मा उनको चलचित्र ‘हिम्मतवाला’ रिलिज भयो।
त्यस पछि त सबै चुप। ठुला ठुला आँखा भएकी श्रीदेवीले विस्तारै विस्तारै आफ्नो काम र अभिनयले सबैको मुख बन्द गरिदिइन्। त्यसपछि त जमाना उनलाई लेडी अमिताभ भन्न थाल्यो।
श्रीदेवीको परिवार फिल्म क्षेत्रको परिवार होइन। उनका बुवा अयप्पन यंगर पेशाले एक वकील थिए र उनी राजनीतिमा पनि सक्रिय थिए। साथमा आमा राजेश्वरी यंगर, बहिनी श्रीलता र भाई सतिश। श्रीदेवीको सुरुका संघर्षका दिनमा आमाले मुख्य भूमिका खेलेको बताइन्छ।
दक्षिण भारतकी श्री देवीको सुरुमा हिन्दी कमजोर थियो।यस कारण उनका फिल्ममा संवाद अरुकै आवाजमा हुन्थ्यो। अमिताभ बच्चनसँगको फिल्म ‘आखिरी रास्ता’मा उनको लागि रेखाले आवाज दिएकी थिइन्।
सन् १९८९ मा रिलीज भएको यश चोपडाको ‘चाँदनी’ त्यो पहिलो फिल्म थियो जसमा श्रीदेवीको आफ्नै आवाजमा संवाद थियो।त्यसमा उनले एक गीत पनि गाएकी थिइन्।
डान्समा पनि उनी अब्बल थिइन् चाहे त्यो चलचित्र मिस्टर इन्डियाको ‘हवा हवाइ’ होस या चलचित्र चाँदनीको ‘मेरे हातौँमे नौँ नौँ चुँडिया’ वा हिम्मतवालाको ‘नैनो मे सपना’ या भनौ नगीनाको ‘मै तेरी दुश्मन’ जसमा उनी नागीन बनेकी थिइन्।
उनको चलचित्र हिम्मतवालाको त रिमेक नै बनेको छ भने ‘हवा हवाइ’ गीत विद्या बालनको फिल्म ‘तुमारी सुलु’मा रिमेक गरिएको छ। उनले त्यस बेलाका चल्तिका बलिउडका नायकसँगै सफल चलचित्र दिइन्। जीतेन्द्रसँग हिम्मतवाला, तोफा, जस्टिस चौधरी र मवाली जस्ता चलचित्र दिइन् श्रीदेवीले।
उनको ऋषि कपुरसँगको नागीन र चाँदनी तथा उनकै देवर अनिल कपुरसँगको ‘मिस्टर इंडिया’ सायदै कसैले बिर्सेका होलान्। उनको जोडी गजबै हुन्थ्यो चाहे त्यो धर्मेन्द्रसँग होस वा त्यस बेलाका सबैका प्यारा राजेश खन्ना होस्। उनले पछि धर्मेन्द्रका छोरा सनी देवलसँग पनि फिल्म खेलिन्।
सन् १९८३ मा आएको हिम्मतवाला यति हिट भयो कि त्यसपछि उनलाई हिम्मतवाली भन्न थालियो। १९८९ मा आएको अर्को फिल्म चाँदनीले त उनी सबैकी प्यारी चाँदनी भइन्। जब उनको फिल्म आउँथ्यो फिल्म भन्दा बढी उनको चर्चा हुन्थ्यो।
बलिउड चलचित्र क्षेत्रमा सँगै काम गर्ने अभिनेतासँग नाम जोडेर बिवाद निम्त्याइनु नौलो होइन त्यो अहिले पनि छ र पहिले पनि थियो। त्यसबाट श्रीदेवी पनि टाढा रहिनन्। सँगै काम गरेका अनिल कपुर अझ भनौँ मिथुन चक्रवर्तीसँग उनको रोमान्सको हल्ला चल्यो तर उनिहरुले त्यसलाइ कहिल्यै मानेनन्। यति मात्र हैन मिथुनसँग त उनको बिहेको हल्ला नै चलेको थियो।
श्रीदेवीलाई २०१३ मा भारत सरकारले फिल्म क्षत्रमा पुर्याएको योगदानका लागी चौथो ठूलो सम्मान पद्मश्रीले सम्मानित गर्यो। त्यस बाहेक श्रीदेवीले उत्कृष्ट अभिनेत्रीको पहिलो अवार्ड तमील फिल्मफेयरबाट पाइन्, ‘मिन्डुम कोकीला’को लागी १९८२ मा। हिन्दी फिल्मको फिल्मफेयर अवार्ड भने उनले १९९२ मा पाइन फिल्म ‘लम्हे’का लागि।
उनले २ पटक उत्कृष्ट अभिनेत्रीका लागी फिल्मफेयर हिन्दी (लम्हे(१९९२) र चालबाज(१९९०), तेलगु(कसना कसनमं(१९९१), तमील फल्म मिन्डुम कोकीला(१९८२)का लागी फिल्मफेयर पाएकी छिन् भने फिल्मफेयर स्पेशल अवार्ड(१९७७) गरेर ५ पटक फिल्मफेयर पाएकी छन। उनि ८ पटक फिल्मफेयरमा उत्कृष्ट अभिनेत्रीका लागी नोमिनेशनमा परेकी थिइन्।
उनी ती अभिनेत्रीमा पर्थिन् जसले हिन्दी, तमिल, तेलगु फिल्मको लागि फिल्म फेयर पाइन्। यहाँसम्म की केरला फिल्म उद्योगले उनलाई बाल कलाकारका लागि १९७० मा नै सम्मान गरेको थियो।
उनको जिन्दगीमा उथल पुथल तब भयो जब उनले फिल्म निर्माता बोनी कपुरसँग विवाह गरिन्। बोनी कपुरको फिल्म ‘मिस्टर इन्डिया’ गर्ने सीलशिलामा चेन्नईको आफ्नो घर छोडेर मुम्बई आउनु पर्यो। त्यतिबेला फिल्मका निर्माता बोनीले श्रीदेवीलाई आफ्नो घरमा राखेका थिए।
यहीँबाट उनीहरुबीच चिनाजान भयो र त्यो विवाहमा परिणत भयो।त्यतिबेला बोनीको पहिला नै विवाह भैसकेको थियो।उनीहरुका दुई छोरी छन जानवी कपुर र खुशी कपुर।
सन् १९९७ को फिल्म ‘जुदाइ’ पछि उनी फिल्मबाट जुदाइ नै भइन्। धेरैले अनुमान गरेका थिए श्रीदेवीलाई अब पर्दामा देख्न पाइने छैन तर त्यो अनुमान गलत सावित भयो।१ ५ वर्षपछि सन् २०१२ मा फिल्म ‘इग्लिश–भिग्लीस’बाट उनी फिल्म क्षत्रमा फर्किइन्। फिल्म सफल सावित भयो र त्यसमा पनि श्रीदेवीकै चर्चा बढी भयो।
त्यसको पाँच वर्षपछि सन् २०१७मा आएको फिल्म ‘मम’ उनको अन्तिम फिल्म थियो। जुन उनको ३००औँ फिल्म थियो।उनी प्राय भन्ने गर्थिन् ‘मदर इन्डिया’ उनको ड्रीम रोल थियो र मम उनको अन्तिम र ३०० औँ फिल्म।
उनको एउटा फिल्मको डायलग थियो “जब तुम मुझे अपना कहेते हो… अपने पे गुरुर आजाता है…’न गुरुर अर्थात घमण्ड उनले फिल्ममा देखाउँथिन्।
दर्शकले उनलाइ दिएको माया उनले कहिल्यै नजर अन्दाज गरिनन् एक पछि अर्को राम्रो फिल्म दर्शकलाई दिएर। चाहे त्यो नागीन बनेर होस वा चाँदनी बनेर। दर्शकले पनि उनलाई आफ्नो भन्न कहिले छोडेनन्।
हिन्दी सिनेमाकी चाँदनीले छोडेर गइन्।उनले हिन्दी सिनेमामा एउटा अविस्मरणीय छाप छोडेर गइन् जुन कसैले बिर्सने छैनन्।त्यो जुनको उज्यालोलाई पनि फिक्का पार्ने चाँदनी, ठूला-ठूला आखाँ भएकी श्री देवी एकदमै अलग थिइन्। जसको फिल्मले अनुहारमा सधैं मुस्कान छोडेर जान्थ्यो।ती चाँदनी अब हामीले देख्न पाउँने छैनौँ। त्यो मुस्कान न अब चाँदनीको अनुहारमा छ न हाम्रो अनुहारमा।
अलविदा चाँदनी ! अलबिदा श्रीदेवी !
(एजेन्सीको सहयोगमा)