काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले आयोजना गरेको दिवाभोजमा पुगेर संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरेका छन्।
आफ्नै निवास टोखामा कांग्रेसबाट निर्वाचित संघीय संसदका सदस्यहरुलाई निम्त्याएर कोइरालाले होलीको अघिल्लो दिन बुधबार शुभकामनासँगै दिवाभोज दिएका हुन्। सबैजसो नेता उपस्थित रहेको कार्यक्रममा सभापति देउवा र पूर्वमहामन्त्री सिंहले संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी रहने बताएका हुन्।
यसअघि दुवै जनाले दलको नेताका लागि तयारी गर्दै आएका थिए । कार्यक्रममा सभापति देउवाले भने, ‘पार्टीलाई समृद्ध बनाएर लैजान जरुरी छ त्यसका लागि संसदीय दलको नेता म नै हुनपर्छ।’ नेता सिंहले भने संसदीय दलको नेतामा सभापति देउवाले उम्मेदवारी दिन नहुने तर्क गरे। उनले कांग्रेसलाई बलियो बनाउनका लागि आफू संसदीय दलको नेता हुनुपर्ने जिकिर गरे। कांग्रेस संसदीय दलको नेताको चुनाव फागुन २१ गते बिहानका लागि तोकिएको छ।
२० गते संघीय संसदका सदस्यको शपथ ग्रहण हुने भएकाले भोलिपल्ट दलको नेता चयन गर्ने तयारी गरेको हो । प्रतिनिधिसभमा ६३ सिट जितेको कांग्रेसमा देउवाको पक्षमा ४०, सिंहको पक्षमा १९ र कृष्णप्रसाद सिटौला पक्षधर नेता तीनजना रहेको कांग्रेस स्रोतको भनाइ छ।
सम्बन्धित समाचार
देउवालाई संसदीय दलमा दाबी छाड्न आग्रह, सशांकको घरमा ‘लञ्च’ भेला

भर्खरै
लोकप्रिय






































































































































































































