
काठमाडौं- विगतका केही वर्षअघिसम्म राजधानीमा हाेली औपचारिक दिनभन्दा महिना दिनअघिदेखि सुरु हुन्थ्यो।
विशेषगरी लोलाको वर्षा हुन्थ्यो, केही साताअघिदेखि। तर राजधानीमा बिहीबार मनाउन लागिएको होलीको कुनै माहोल देखिएको छैन, एक दिनअघिसम्म।
अभद्र तरिकाले खेलिने होलीलाई नियन्त्रण गरिन थालेपछि होलीको रौनक हराउन थालेको हो। काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी विश्वराज पोखरेल प्रहरीले कडाइ गरेको भन्दै गुनासो आइरहेको स्वीकार गर्छन्।
उनी शिष्ट र शालीन पाराले खेलिने होलीलाई प्रहरीले सँधै प्राेत्साहन गर्ने गरेको बताउँछन्। ‘हामीले शान्ती पूर्वक खेलिने होली र इच्छाविपरित खेलिने दुवै होलीलाई ध्यान दिएर सुरक्षा ब्यवस्था मिलाएका छौं’, एसएसपी पोखरेलले भने।
राजधानीमा यसपटक अभद्रपूर्वक होली खेलेको आरोपमा कोही पक्राउ परेका छैनन्।