
धनगढी- थरुहट आन्दोलन हाकेका कैलालीका विभिन्न थारु संघ संस्थाहरुले टीकापुर घटनाको मुद्दामा कारागार चलान भएका रेशम चौधरीलाई प्रतिनिधि सभा सदस्यको सपथ ग्रहणको व्यवस्था मिलाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पठाएका छन्।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाइएको ज्ञापन पत्रमा रेशम चौधरीलाई निर्वाचन जितेको प्रमाणपत्र दिन र समयमै सपथ ग्रहणको व्यवस्था मिलाउन माग गरिएको छ।
टीकापुर घटनापछि फरार रहेका रेशम चौधरीले फरार रहेकै अवस्थामा कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट अध्यधिक बहुमत ल्याएर चुनाव जितेका थिए। तर उनलाई हालसम्म निर्वाचन आयोगले चुनाव जितेको प्रमाणपत्र दिएको छैन।
लामो समयदेखि फरार रहेका रेशमले संघीय संसदको पहिलो अधिवेशन आउन केही दिन मात्रै बाँकी रहेका बेला कैलाली जिल्ला अदालतमा आत्मसमपर्ण गरेका थिए। उनलाई सोही दिन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो।
कारागार चलान भएका रेशमले चुनाव जितेको प्रमाणपत्र समेत नपाएको र प्रतिनिधि सभा सदस्यको सपथ ग्रहण गर्न समेत नपाउने भएपछि थारुसंघ संस्थाहरुले सपथ ग्रहणको व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई ज्ञापन पठाएका हुन्।
यसका साथै कैलाली कारागारमा रहेका २६ जनाबन्दीहरुलाई अविलम्व झुट्टा मुद्दा फिर्ता गरी रिहा गर्न माग गरिएको छ। थरुहट थारुवान संघर्ष समिति, टीकापुर राजवन्दी परिवार संघर्ष समिती, थारु कल्याणकारी सभा, थारु नागरिक समाज र आदिवासी जनजाती महासंघले संयुक्त रुपमा ज्ञापन पत्र पठाएका हुन्।