
धनगढी- सेवाग्राहीको सबैभन्दा बढी भीडभाड हुने नापी र मालपोत कार्यालय कैलालीका ५ जना कर्मचारी प्रहरीको खोरमा परेका छन् भने एकजनाको हात भाँचिएर अस्पतालमा भर्ना भएका छन्।
नापी कार्यालय र मालपोत कार्यालय कैलालीमा कार्यरत नविन जोशी, सागर कुँवर, पुर्णानन्द भट्ट, महादेव जोशी, विरेन्द्र सिह र ज्ञानेन्द्र ओझा मदिराको नसामा लठ्ठ भेटिएपछि प्रहरीले पक्राउ गरेर जिप्रका पुगाएको छ।
जिल्ला मातपोत कार्यालय कैलालीको परिषरमै दिउसैबाट मदिरा सेवन गरी आपसमा विवाद गर्न थालेपछि ६ जनालाई नै प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुलाई वियरका बोत्तलसहित वडा प्रहरी कार्यालयले पक्राउ गर्दै जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो।
मदिरा सेवन गरी हो–हल्ला गर्न थालेपछि स्थानीयले वडा प्रहरी कार्यालय कैलालीलाई खवर गरेका थिए। वडा प्रहरी कार्यालयले ६ जनालाई नै पक्राउ गरी सेती अञ्चल अस्पताल पुर्याउँदा ६ जनाले नै अत्याधिक मदिरा खाएको भेटिएको अस्पतालले जनाएको छ।
पक्राउ परेका मध्ये पुर्णानन्द भट्टको बाँया हात टुटेकाले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने उनी बाहेकका ५ जना जिप्रका पुर्याइएका छन्।
मदिरा सेवन गरी लठ्ठ भएका कर्मचारीहरु विच आपसमा विवाद र सामान्य हातपात समेत भएका कारण हात टुटेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। ५ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएकोमा सोधपुछ गर्दा सबै मदिरामा लठ्ठ भएकाले कोही केही नबोलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए। उनले उनीहरुसँग सोधपुछ जारी रहेकाले छानबिन गरी कारवाहीको प्रक्रिया अगाडि बढाउने बताए।