
धनगढी – टिकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका रेशम चौधरीले आफूलाई जेलमा राखेर नवराज सिलवाललाई प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराएकोमा कडा आपत्ति जनाएका छन् ।
आइतबारदेखि कैलाली कारागारमा अनसन समेत सुरु गरेका रेशमले फरार सुचिमा रहेका नवराज सिलवाललाई शपथ ग्रहण गराउने तर आफूलाई जेलमा कोचेर राज्यले गम्भीर विभेद गरेको आरोप लगाए ।
रेशम टिकापुर घटनापछि फरार रहेकै अवस्थामा कैलाली १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए भने डिआइजीको जागिर छोडेर एमाले प्रवेश गरेका सिलवाल ललितपुरबाट प्रतिनिधिसभामा विजयी भएका थिए ।
‘पक्राउका लागि रेड कर्नर नोटिस जारी भएका नवराज सिलवाललाई निर्वाध रुपमा प्रतिनिधिसभा सदस्यको शपथ खान दिने तर कानुन र अदालतको सम्मान गर्दै उपस्थित हुन आएको म रेशम चौधरीलाई जेलमा कोच्ने, राज्यको यो विभेदकारी नीति कहिलेसम्म ?’ कारागारमा अनसन बसेका रेशमले प्रश्न गरे ।
उनले प्रहरीको फरार सूचिमा रहेका नवराज सिलवाललाई उनको पार्टी नेकपा एमाले नेतृत्वको सरकारले संरक्षण गरेको आरोप लगाए । सिलवाल एमाले नेता माधव कुमार नेपालसँगै शपथ समारोमा झुल्किएका थिए ।
‘चाहेको भए म पनि प्रहरीको आँखा छलेर अथवा आफ्नो पार्टी राजपाका नेताहरुसँग टासिएर शपथ समारोहमा उपस्थित हुन सक्थेँ, तर कानुनलाई मानेर अदालतमा उपस्थित भएको मलाई शपथ समारोहमा उपस्थीत हुन दिइएन, कानुन सबैलाई समान हुनुपर्छ ।’ उनले भने ।
रेशमसहित कैलाली कारागारमा रहेका टिकापुर घटनाका आरोपितले झुटा मुद्धा फिर्ता लगायतका माग राखेर आइतबारदेखिअनसन सुरु गरेका हुन् ।