
विराटनगर- उर्लाबारीका सुन व्यवसायी सनम शाक्यको हत्यामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले मुद्दा दर्ता गराएको छ।
महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँ र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले शनिबार विराटनगरको पोखरियाबाट शाक्यको शवसहित मोरङ उर्लाबारीका मोहन काफ्ले, नरेन्द्र कार्की र काभ्रे देउपुर गाउपालिकाका टेकराज मल्ल ठकुरीलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले तिनै जनाविरुद्ध संगठित अपराध तथा अपहरण, कर्तब्य ज्यान मुद्धा दर्तागरी ७ दिनको म्याद थप गरेको जनाएको छ।
यसैक्रममा प्रहरीले मृतक सनम शाक्यको आर्थिक लेनदेनका कारण हत्या भएको जनाएको छ।
आर्थिक लेनदेनको कारण शाक्यलाई शारिरीक यातना दिदैं, करेन्ट लगाएर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ।
प्रहरीका अनुसार, हत्यामा करेन्ट लगाउन प्रयोग गरिएको ब्याट्री र तारहरु समेत बरामद गरेको छ। प्रहरीका अनुसार, मृतक शाक्यलाई अभियुक्तहरुले घरबाट फोन गर्दै आफूसंगै लिएर हिडेको र उर्लाबारीको सोल्टी खोलाको किनारमा रहेको जंगलमा करेन्ट लगाउदै यातना दिएर हत्या गरेको हो।
प्रहरीका अनुसार, नियन्त्रणमा लिइएकाहरुसंगको प्रारम्भिक बयानका आधारमा उर्लावारी निवासी चुडामणि उप्रेती मुख्य योजनाकार भएको देखिएको छ। यद्धपि उनी प्रहरीको पहुँच बाहिर रहेका छन्।
प्रहरी प्रमुख अरुणकुमार बीसीले भने, ‘साथीसँगै हिँडेको आधारमा कसैले जानकारी दिन सक्ने भएन। साथै यसको सुचना आफ्नो च्यानलबाट महाशाखामा पहिले पुग्यो।’