
ललितपुर: ललितपुरको गोदावरी नगरपालिकामा रहेका पाँच विद्यालयका करिब ४० विद्यार्थीलाई हृदयाघातबाट बच्न सानै उमेरदेखि अपनाउनुपर्ने होसियारीपूर्ण र सचेत जीवनशैलीबारे भास्कर सम्झना प्रतिष्ठानले दुईदिने वृहत् तालिम आयोजना गरेको छ।
प्रख्यात कुटनीतिज्ञ तथा पूर्वमन्त्री डा. भेषबहादुर थापा र चिकित्सक तथा समाजसेवी डा. रीता थापाका छोरा ४९ वर्षीय डा. भास्करबहादुर थापाको चार वर्षअघि हृदयाघातबाट आकस्मिक निधन भएपछि हृदयाघातको जोखिमबाट युवापुस्तालाई बचाउन भास्कर सम्झना प्रतिष्ठान स्थापना गरिएको हो।
ललितपुरको बाडेगाउँस्थित सन्तनेता कृष्णप्रसाद प्रतिष्ठानमा मंगलबार सुरु भएको तालिम उद्घाटनका क्रममा प्रतिष्ठानकी अध्यक्ष डा. रीता थापाले हृदयाघात र मुटुसम्बन्धी जोखिमका पाँच कारणहरुबारे जानकारी गराइएकी थिइन्। ती कारण हुन्: १, सूर्ती र सूर्तीजन्य पदार्थ, २. रक्सी ३. शारीरिक असक्रियता ४. तनाव ५. अस्वस्थ खाना।
हृदयाघातबाट युवाहरुलाई बचाउन विद्यार्थीहरुलाई प्रशिक्षकका रुपमा प्रशिक्षित गरिएको डा. थापाले कार्यक्रममा जानकारी दिइन्। बालबालिकाहरुलाई हृदयाघातबाट बच्न पालना गर्नुपर्ने नियम कठोरतापूर्वक मान्नसमेत थापाले आग्रह गरेकी थिइन्।
आफ्ना छोरा टनेल इन्जिनियर भास्कर थापाको ४९ वर्षको उमेरमा हृदयाघातले निधन भएपछि अन्य युवाहरुलाई यस्तो जोखिमबाट बच्न डा. थापाले प्रतिष्ठानमार्फत ‘भास्कर स्कुल हृदय स्वास्थ्य सशक्तीकरण पहल प्रशिक्षक तालिम’ सुरु गरेकी हुन्।
कार्यक्रमको उद्देश्य ‘स्कुले नवयुवाहरुलाई हृदयाघातका पाँच जोखिमहरुबाट बच्न सशक्त बनाउँ: हृदयाघातबाट बचाउँ’ छ। भास्करको जस्तो असामयिक निधनको पीडाबाट अन्य युवा र उनीहरुका परिवारलाई जोगाउन प्रतिष्ठानले हृदय स्वास्थ्य सशक्तीकरण पहल सुरु गरेको जानकारीसमेत थापाले गराइन्। विद्यार्थीहरुलाई दिइने यो प्रशिक्षण ‘पाँच चरणीय अनुभवजन्य सिकाइ तालिम’ हो।
गोदावरीका मेयर गजेन्द्र महर्जनले नेपालमा मुटुसम्बन्धी जोखिम बढ्दै गएको अवस्थामा आफ्नो नगरपालिकामा यस्तो शिक्षाप्रद र उपयोगी कार्यक्रम सञ्चालन गरिदिएको भन्दै प्रतिष्ठान र यसकी अध्यक्ष डा. रीता थापालाई धन्यवाद दिए। बाडेगाउँ क्षेत्र रहेको १४ नम्बर वडाका वडाध्यक्ष जगन्नाथ महर्जनले पनि स्वस्थ बन्न यस्ता कार्यक्रम उपयोगी हुने बताएका थिए। पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक रामचन्द्र पौडेलले पनि कार्यक्रमको सराहना गरेका थिए। कार्यक्रममा हृदय सशक्तीकरण पहलका लागि भिडियो देखाइएको थियो।