
धनगढी- राष्ट्रिय मानव अधिकार आयोगले कैलाली कारागारमा अनसनरत रेशम चौधरी लगायत २४ जनालाई अनसन स्थगन गर्न आग्रह गरेको छ।
‘आफ्ना मागहरू पूरा गर्ने सन्दर्भमा आमरण अनसन जस्तो संवेदनशील बाटो नरोज्न एवं आमरण अनसन स्थगन गरी विरोधको अन्य बाटो अवलम्बन गर्न आयोग अनसनरत पक्षलाई आग्रह गर्दछ।
साथै कैदी बन्दीहरूको मानवोचित मागको सम्बन्धमा संवाद गरी जीवनको अधिकार रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।’ मानव अधिकार आयोगका सचिव वेद भट्टराईले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।
आयोगले जारी गरेको बिज्ञेप्तीमा कैलालीको धनगढी कारागारमा रहेका २४ जना कैदी बन्दीहरूले विभिन्न मागहरू राखी विगत चार दिन देखि आमरण अनसनमा बसेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख छ।
सो सम्बन्धमा आयोगका माननीय सदस्य प्रकाश शर्मा वस्ती सहितको टोलीले आज अनुगमन गरी अनुगमनको आधारमा नेपाल सरकारलाई पत्राचार गरेको पनि आयोगले जनाएको छ। टीकापुरको घटनाका मुख्य आरोपी रेशमलाल चौधरी सहित २४ जना बन्दिहरुले २० गतेदेखि अनसन सुरु गरेका थिए।
उनीहरुले प्रतिनिधि सभामा विजयी रेशम चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र दिइनुपर्ने, संसदमा शपथ खान पाउनुपर्ने, टिकापुर घटनाका आरोपी २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पुरा गर्नुपर्ने लगायतका माग राखेका छन्।