
दाङ–प्रदेश नम्बर ५ मा पहिलोपल्ट बालुवामा खेलिने बीच भलिबल प्रतियोगिता सुरु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित बबई नदी किनारामा पहिलो मेयरकप नाम लिएर बीच भलिबल खेल सुरु भएको हो।
खेलको उद्घाटन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गरे।
खेलकुदको विकास र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ५ नम्बर प्रदेशमा पहिलोपटक बीच भलिबल खेलको आयोजक तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए। ‘धेरै सम्भावना उजागर हुने क्रममा छ, पहिलोपल्ट हामीले बीच खेलको सुरुवात गरेका छौं’, पाण्डेले भने, ‘तुलसीपुर उपमहानगरपालिकालाई स्पोर्ट सिटी बनाउने योजनाका साथ अघि बढेका छौं।’
प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिका १९ वटै वडाका पुरुष १७ समूह र महिलातर्फ १० गरी २७ वटा समूहले भाग लिएका छन्। बीच भलिबलका लागि हरेक समूहमा दुई/दुई जना खेलाडी रहने छन्।
खेलमा महिला र पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश: २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।