
सुर्खेत– कर्णाली प्रदेशसभा सञ्चालन नियमावली २०७४ को मस्यौदा प्रतिवेदन तयार भएको छ।
प्रदेशसभा सदस्य सीता नेपालीको संयोजकत्वमा गठित आठ सदस्यीय प्रदेशसभा नियमावलीको मस्यौदा समितिले उक्त प्रतिवेदन तयार पारेको हो।
नेपालको संविधानको १९४ धाराले दिएको अधिकार प्रयोग गर्दै समितिले बुधवार प्रतिवेदन पेश गरेको छ।
समितिले बुझाएको मस्यौदा प्रतिवेदनमा २६ परिच्छेद, दुई सय २२ नियम र ८ अनुसूची तोकिएको छ।
प्रदेशसभा सञ्चालन गर्न, सभालाई व्यवस्थित गर्न र प्रदेशसभा सदस्यहलाई मर्यादित बनाउन दुई सय २२ नियम प्रस्ताव गरिएको हो।
१५ दिनको म्याद पाएको प्रदेशसभा नियमावलीको मस्यौदा समितिले एक दिन पहिले नै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीलाई प्रतिवेदन बुझाएको हो।
सानो प्रदेश भएकाले बैठकलाई व्यवस्थित गर्न ५० प्रतिशत सदस्यको उपस्थितमा संसद र समितिको बैठक बस्न मिल्ने व्यवस्था गरिएको समितिका सभापति नेपालीले बताइन्। उनका अनुसार मस्यौदामा चार ओटा विषयगत समिति बनाउने प्रस्ताव गरिएको छ।
समितिहरुमा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति छन्। कर्णाली प्रदेशको अब बस्ने बैठकमा मस्यौदा माथि छलफल हुने प्रदेश सचिवालयले जनाएको छ।
यसैबीच, कर्णाली प्रदेशको पहिचान झल्किने गरी प्रदेशको लोगो प्रस्ताव गरिएको छ। लोगोमा कर्णाली प्रदेशको नक्सालाई महिला र पुरुषको हातले संयुक्त रुपमा उचालिएको हुनेछ भने विचमा नेपालको झण्डा हुने प्रस्ताव गरिएको छ। प्रदेशसभा सदस्यहरुको पोशाक भने कार्य व्यवस्था परामर्श समितिले तोके अनुसार हुने प्रतिवेदनमा उल्लेख छ।