
पोखरा- प्रदेश ४ का उद्योग, पर्यटन तथा वनमन्त्री रामशरण बस्नेतले खेल र पर्यटनसँगै जोडेर अघि बढेमा आर्थिक समृद्धि सम्भव हुने बताएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा नेपाल पर्यटन बोर्ड पोखराको सहआयोजना भएको अन्तक्रिया कार्यक्रममा मन्त्री बस्नेतले प्रदेश ४ मा खेल पर्यटनको प्रचूर सम्भावना भएको र उनले सोही अनुरुप पूर्वाधार निर्माण गरी प्रदेशको समृद्धि र विकासमा ध्यान केन्द्रित रहेको बताए।
उनले खेलकुदका अस्पष्ट नीति पुनरावलोकन गर्दै प्रदेश सरकारले बनाउने स्पष्ट नीति, नियम र कानून निर्माण गरी अघि बढ्ने बताए।
उनले भने, ‘प्रदेश सरकारले नागरिकको चाहना केन्द्रविन्दुमा राखेर विकास समृद्धिमा ध्यान केन्द्रित गर्छ।’ उनले कानुन भन्दा माथि कोही पनि नरहेको भन्दै विधिको शासनप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताए।
अन्तर्क्रियामा प्रदेश ४ का सांसद राजीव पहारीले विश्वकै पाँचौ उत्कृष्ट प्याराग्लाइडिङ क्षेत्र पोखरामा रहेको, १३ औं सुन्दर ताल फेवाताल रहेको जानकारी दिँदै विश्वका २ सय मुलुकमा नपाइने हावापानी यहाँ रहेकोले पर्यटन र खेलकुद विकासको सम्भावना औँल्याए। उनले अब परिणाममुखी काममा जोड दिनुपर्ने बेला आएको बताए।
सांसद इन्द्रधारा बिष्टले उत्तर र दक्षिण दुवैतर्फबाट हेर्दा पनि हिमाल देख्न सकिने प्रदेश ४ को मुस्ताङमा खेलिने हन्टिङ, घोडाचढी खेल विशेष रहेको चर्चा गरे। अर्का सांसद मोहनप्रसाद रेग्मीले ग्रामीण तथा आधारभूत तहमै खेलकुदलाई जोड दिनुपर्ने भन्दै यहाँ राष्ट्रिय गौरवको खेललाई व्यवस्थित गर्नुपर्ने भनाइ राखे।
खेलकुद पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष महेश आचार्य, पश्चिमाञ्चल खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेल, खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रकाश तिमल्सिना, कास्कीका अध्यक्ष केशव पाठक, भूपू खेलाडी मञ्चका पूर्व अध्यक्ष खड्गबहादुर रानाभाट लगायत खेलुकद र पर्यटन क्षेत्रका विभिन्न सरोकारवाला निकाय, संघसंस्थाका प्रतिनिधिहरुले प्रदेश ४ मा खेल पर्यटनको सम्भावना विषयमा आफ्नो भनाइ राखेका थिए।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलिया र खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रकाश तिमल्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमाथि पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले टिप्पणी गरेका थिए। कार्यक्रममा ७० जना सहभागी थिए।