
काठमाडौँ- कवि तथा साहित्यकार भीष्म उप्रेतीको नयाँ कवितासङ्ग्रह ‘आधा उज्यालो’ प्रकाशित भएको छ। भीष्मको आठौँ कविताकृतिको रूपमा प्रकाशित आधा उज्यालो कवितासङ्ग्रहमा विभिन्न समय र सन्दर्भमा लेखिएका कुल ५४ वटा कविताहरू समावेश गरिएका छन्।
मानवीय संवेदना र प्रकृतिले मान्छेको जीवनमा पारेका प्रभावलाई नजिकबाट नियालेर कविता लेख्ने भीष्मको यस पुस्तकभित्रका कविताहरूलाई देश, प्रकृति र मान्छे गरी तीन उपशीर्षकमा वर्गीकरण गरिएको छ। बीबीसी नेपाली सेवाले गरेको कविता प्रतियोगिता २०४९ र राष्ट्रिय कविता महोत्सव २०५० मा प्रथम पुरस्कार प्राप्त गरेका भीष्मले भ्रमणबाट कविताका विषयहरूको छनौट गर्ने हुनाले उनका कविताहरूमा चित्रहरूको झल्को आउँछ।
अंग्रेजी, जापानी, कोरियाली, सर्बियाली, स्लोभेनियाली, हिन्दी, कम्बोडियाली भाषामा भीष्मका कविताहरू अनुदित छन्। भीष्मको ह्वाट इफ द स्काई फल्स ? नामक कवितासंग्रह अमेरिकाको ग्रे स्पारो प्रेसबाट सन् २०१६ मा प्रकाशित छ। प्रस्तुत कवितासङ्ग्रह सारांश, नेपालले प्रकाशन गरेको हो।
भीष्मका कविताका बारेमा कवि मनु मन्जिल भन्छन् – भीष्मको शैली आफैँमा एक लोभलाग्दो प्रयोग हो। र, यो सार्थक पनि छ। उनका भाषा सरल र जीवनको तेजले भरिएका छन्। औसत जीवन हेरेर अचानक परिष्कृत र असाधारण अभिव्यक्ति दिनमा यी कवि क्षमतावान लाग्छन्।