
जनकपुरधाम – प्रदेश नम्बर २ को मन्त्रीमण्डल विस्तार हुँदा एकजना मात्र महिला सहभागिता गराउनु महिलामाथि उपहास भएको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुभाइएको छ । अन्तर पार्टी महिला सञ्जाल धनुषाले शनिबार बिहान प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीलाई ज्ञापन पत्र बुझाएको हो ।
प्रदेश २ को मन्त्रीमण्डल विस्तार हुँदा त्यसमा महिलालाई उचित स्थान नदिइएकाले त्यसलाई सुधार गर्ने मागसहित संजालकी अध्यक्ष मञ्जु कुमारी यादवले ज्ञापन पत्र बुझाएकी हुन् ।
संविधानको धारा ३८ को उपधारा ४ अनुसार राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक छ ।
तर प्रदेश नं. २ मा एकजना पनि महिलालाई मन्त्री नबनाउनु र राज्य मन्त्रिमा एक महिलालाई मात्र सहभागी गराएकोमा ज्ञापनपत्र मार्फत आपति समेत जनाइएको छ । भने यसलाई अविलम्ब सँच्याउन माग समेत गरिएको छ ।
यता ज्ञापनपत्र बुझेका मुख्यमन्त्री मो. राउतले अन्तरपार्टी संजालको माग राम्रो रहेको र माग सम्बोधन गर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै महिलाको क्षेत्रमा नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान रहेको भन्दै मुख्यमन्त्री राउतले संविधानमा महिलाको सुनिश्चिता अनुसार विस्तारै सिस्टममा आउने बताएका छन् ।
कांग्रेस, एमाले, माओवादी, राजपा, फोरम र राप्रराका महिलाहरुको संगठन रहेको अन्तरपार्टी महिला संजालले महिलाको हक अधिकारको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।