पोखरा- पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएकी सुत्केरी धनुमाया पोखरेल लामिछानेको विषयमा आइतबार अस्पताल प्रशासन र पीडित आफन्त बीच भएको वार्ता विना निष्कर्ष टुंगिएको छ।
सामान्य अवस्थामा बच्चा जन्माएकी धनुमायाको रक्तस्राब नरोकिए पछि लगालग दुई चोटि शल्यक्रिया गरिएको थियो । त्यसपछि पनि रक्तस्राब नरोकिएपछि सोहि कारण उनको ज्यान गएको थियो ।
घटनाका बारेमा मृतकका भाई रमेश पोखरेल भन्छन्, ‘शुक्रबार ३.३० मा बिहान दिदीलाई सुत्केरी ब्यथा लागे पछि पश्चिमाञ्चल अस्पताल ल्यायौँ। नियमित चेक जाँच गरेको अस्पतालमा सुत्केरी गराउँदा राम्रो हुन्छ भनेर क्षेत्रीय अस्पताल ल्यायौँ।’
डाक्टरले केही दिनपहिले चेक गर्ने क्रममा अप्रेशन गर्नु पर्छ भनेका थिए। सोही मानसिकताका साथ धनु अस्पताल पुगेकी थिइन्।
अस्पतालका नर्सले डेलिभरी प्वाइन्ट खुलेको भन्दै सामान्य रुपमै बच्चा जन्मन सक्ने बताए। बिना औषधी धनुले दिउँसो २ बजे २ किलो २५० ग्रामको बच्चा जन्माइन्।
सामान्य रुपमा सुत्केरी भएकी धनुलाई साँझ ५.३० बजे सम्म पनि जनरल वार्डमा नल्याएपछि आफन्तले उनको अवस्थाको बारेमा बुझ्न प्रसुति वार्ड तिर गए तर नर्सले भित्र पस्न दिएनन्।
डाक्टरले आपसमा कुरा गरेको आफन्तले सुने ‘खतरा बढ्यो’ भनेर कुरा गरेको सुने पछि आफन्त जबरजस्ती धनुलाई भेट्न गए। डाक्टरले बल्ल भने, ‘उहाँको भित्र रगत जमेको छ, अप्रेशन गर्नुपर्छ।’ अप्रेशनका सामग्री किनेर ल्याए। धनुलाई ६ बजे अप्रेशन कक्ष लगियो। उनको अप्रेशन भयो। अप्रेशन पछि डाक्टरले भने, ‘जमेको रगत फाल्यौ अब सुधार हुन्छ।’ अक्सिजन लगाइरहेको अवस्थामा बोलाउँदा उनले आँखाको भाषामा टाउको हल्लाएकी थिइन्। आफन्त पनि ढुक्क भए।
एक्कासी शनिबार बिहान फेरि १ लिटर रगत बग्यो भन्ने कुरा नर्सले सुनाए। डाक्टर बोलाइयो। डाक्टरले फेरि उनको रक्तस्राव नरोकिएको र अर्को अप्रेशन गर्नु पर्ने भन्दै ५/६ पोका ताजा रगतको जोहो गर्न भने।
आफन्त आत्तिएका थिए। ‘हिजो राति मात्रै अप्रेसन गरेर पूर्ण होशमा आउन नपाउँदै अर्को अप्रेशन?’ फेरि पनि डाक्टरको आदेश मान्नुको विकल्प आफन्तसँग थिएन। उनीहरुले ओ पोजिटिभ रगत समुहका मानिसलाई सम्पर्क गरेर तयारी अवस्थामा राखे।
धनुलाई फेरी अप्रेशन कक्ष लगियो। बिहान ६.३० बजे अप्रेशन कक्षबाट आइसियुमा लगियो। कसैलाई भेट्न दिइएन। ९ बजे पछि हेर्दा उनका आँखा एकदम पँहेलो थियो। होस थिएन। डाक्टरले भने, ‘प्रेसर लो छ, रगतको कमी छ। सुधार हुन्छ नआत्तिनुस्।’
दिउँसो १ बजे सास नफेरेजस्तो लागेपछि आफन्तले फेरि डाक्टरलाई सोधे, बिरामी त सास नै नफेरेजस्तो देखिन्छ, के हो अवस्था जानकारी दिनू भनेपछि डाक्टरले घाँटीबाट रगत दिनु पर्छ सामग्री ल्याउन भने। फेरि एकछिनमै पर्दैन भने। ‘आँखा पहेलो, दिमागको नशाले काम गरेको छैन,’ उनले सास फेरिरहेको जानकारी दिए।
दिउँसो २.३० मा आँखाको नानी चलेको, पिसाब फेरेको र सुधार हुँदै गएको भन्ने जानकारी डाक्टरले दिए पछि आफन्तमा केही खुशी छाएको थियो। राति ९ बजे तिर डाक्टरले हेरेर गएका थिए।
आइतबार विहान ५.३० बजे डाक्टरले विरामीको अवस्था नाजुक भएको र जटिल हुँदै गएको सुनाए। ६ बजेतिर धनुको जेठानी दिदीलाई बोलाएर ‘हामीले बचाउन सकेनौँ, उहाँको शव बुझ्नुस्’ भन्दै हस्ताक्षर गर्न भने’ तर जेठानी देवी लामिछानेले बुझ्न मानिनन्।
एउटा नर्मल डेलिभरी भएकी महिलालाई पहिलो अप्रेशनबाटै होस नआउँदै अर्को अप्रेशन गरेर जटिल बनाएको, लामो समयसम्म रक्तस्राब हुँदा पनि बेवास्ता गरेको र सोही कारण उनको ज्यान गएको आरोप आफन्तले लगाएका छन्।
‘हामीसँग चर्को आवाज र पहुँच छैन। डाक्टरले गम्भीर भएर उपचार गरेनन्। धेरै कुराले डाक्टर जिम्मेवार नबनेको देखिन्छ। अब न्याय खोजेका छौँ,’ रमेशले भने।
गत ज्येष्ठ वैवाहिक जीवनमा प्रवेश गरेकी धनुले पहिलो सन्तान जन्माँउदा ज्यान गुमाउन पुगिन्। उनका श्रीमान छविलाल लामिछाने खरबारीमा लडेर १५ दिनदेखि सोही अस्पतालमा उपचाररत छन्। उनको घाँटीको नसा च्यापिएको छ भने हड्डी भाँचिएको छ।
सो घटनालाई लिएर अस्पताल निर्देशक डा.अजुर्न आचार्य सहित डा. रवि रेग्मी, डा.राजेश अधिकारी, डा. गीरधारी शर्मा, डा. निरज दुबे र पोखरा लेखनाथ महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष खगराज आचार्य, मृतकका भाइ रमेश पोखरेललगायतका आफन्तबीच बार्ता भएको थियो। घटनाको बारेमा सिनियर डा. रवि रेग्मीले आफुहरुले कुनै कसर नराखी उपचारमा खटेको तर बचाउन नसकेको भन्दै माफ मागेका थिए।
‘सबै स्रोत र साधनको प्रयोग गरेर हाम्रो सम्पूर्ण टिम उहाँको उपचारमा लाग्यौँ तर रक्तस्राबको कारण पत्ता लागेन। अन्तत: बचाउन सकेनौँ। हामी क्षमा चाहन्छौँ।’
आफन्तहरुले घटनामा अस्पतालको लापारबाही भएको भन्दै घटनाको छानविनसहित दोषीमाथि कारबाहीको माग गर्दै शव बुझ्न मानेका छैनन्। उनीहरुले हेल्चेक्राइँ गर्ने स्वास्थकर्मीलाई कारबाही गर्न, नबजात शिशुको पालन पोषण र उचित शिक्षा दिक्षाका लागि जिम्मेवारी लिन अस्पताल प्रशासनलाई आग्रह गरेका छन्। आइतबार बसेको वार्ता सहमतिमा पुग्न नसकेपछि पोखरा लेखनाथ महानगरपालिका ,अस्पताल प्रशासन र पीडित पक्षका बीच सोमबार बार्ता हुने जनाइएको छ।

                                                                                                                    
                                            
                                            
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































