पर्वत – शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एकजना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि पर्वतको एक विद्यालयमा भने एक वर्षदेखि दुईजना प्रधानाध्यापक रहँदै आएका छन् ।
पर्वतको कुश्मा नगरपालिका–११ मा रहेको वीरेन्द्र माविमा सरकारी निकाय र विद्यालय व्यवस्थापन समितिले बनाएका दुईजना छुट्टा–छुट्टै प्रधानाध्यापक रहँदै आएका छन् ।
एक वर्षअघि विद्यालयका प्रधानाध्यापक देवराज पौडेल कालिका मावि खुरकोटमा सरुवा भएर जाँदा ज्येष्ठताका आधारमा गणेशराज पौडेललाई निमित्त प्रधानाध्यापक दिएर गएका थिए । तर विद्यालय व्यवस्थापन समितिले भने पौडेललाई प्रधानाध्यापक बनाई काम गराउन नसकिने र हिराबहादुर क्षेत्रीलाई बनाउनुपर्ने अडान लिएपछि विवाद चुलिँदै गएको हो ।
पौडेल माध्यमिक तह तृतीय श्रेणीका स्थायी शिक्षक हुन भने क्षेत्री निम्न माध्यमिक तह द्वितीय श्रेणीका शिक्षक हुन् । पौडेलले यसअगाडि नै २०६८ सालबाट तीन वर्ष प्रधानाध्यापक भई काम गर्दागर्दै पदबाट राजीनामा गरेका थिए । उनीमाथि आर्थिक हिसाब–किताब पारदर्शी रुपमा राख्न नसकेको आरोप छ । पौडेलले आफूपछि प्रधानाध्यापक बनेकी सावित्रा सुवेदीलाई बरबुझारथ गरेनन् ।
क्षेत्रीय शिक्षा निर्देशनालय पोखरा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पुनरावेदन अदालत बागलुङ र जिल्ला शिक्षा कार्यालय पर्वतले शिक्षा नियमावलीअनुसार गणेशराज पौडेललाई प्रधानाध्यापक बनाउन भनी विद्यालयमा पत्राचार गरेको भए पनि व्यवस्थापन समितिले भने हिराबहादुर क्षेत्रीलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको छ । क्षेत्रीको पक्षमा समितिमा बहुमत छ । विद्यालयमा दुवै प्रअले कार्य सम्पादन गर्दै आएका छन् ।