
विराटनगर- विराटनगरमा शनिबार सुरु भएको अन्तरविद्यालय, खुल्ला तथा भेट्रान्स टेबलटेनिस प्रतियोगिताको महिलातर्फ खुल्लामा गीता भुजेलले स्वर्णपदक हात पारेकी छिन्।
शहिद रंगशालास्थित टेबलटेनिस हलमा सम्पन्न उपाधि भिडन्तमा सुनसरीकी भुजेलले दिक्षा दाहाललाई तीनदुइको सेटमा पराजित गरेकी थिइन्।
राष्टिय खेलाडी भुजेलले बेस्ट अफ फाइभमा आफ्नै जिल्लाकी दाहाललाई पराजित गरेकी हुन्।
त्यसैगरी उक्त स्पर्धामा सुनसरीकी रुपा लिम्बु र विराटनगर शिक्षादीप कलेजकी अन्जु श्रेष्ठ भने तृतीय भए।
त्यसैगरी पुरुषतर्फको खुल्लामा सुनसरीकै महावीर चौधरीले स्वर्ण पदक हात पारे। बेस्ट अफ सेभेन अन्तर्गत चौधरीले मोरंगका सन्तोष काफ्लेलाई चारतीनको सिधा सेटमा पराजित गरे। काफ्ले राष्टिय खेलाडी हुन्। त्यसैगरी धरानका प्रतीक थापा र मोरंगका प्रवेश न्यौपाने भने तृतीय स्थानमा सीमित बने।
प्रतियोगिताको विद्यालयतर्फ गर्ल्स सिंगलमा एजेलिया बोर्डिंग स्कुलकी सम्बृद्धि लुइँटेल पहिलो भइन्।
सम्बृद्धिले सेन्ट म्यारिज स्कुलकी कृपा कार्कीलाई पराजित गरिन्।
तृतीय स्थानमा भने ग्यालेक्सी बोर्डिंग स्कुलकी यानाराज भण्डारी भइन्। त्यसैगरी ब्वाइज सिंगल्समा युरो किड्सका बोधित बीसी पहिलो भए। बोधितले ओसिस स्कुल धरानका अनमोल विकलाई सिधा सेटमा हराएका थिए।
भेट्रान्स डबल्समा भने मोरङ जिल्ला टेबल टेनिस संघका अध्यक्ष रोशन दत्त र विपीन श्रेष्ठको जोडी सेमीफाइनलमा प्रवेश गरेको छ। त्यसैगरी अनुज बानियाँ र सत्यनारायण राजभण्डारीको जोडीले पनि अन्तिम चारमा स्थान बनाएको छ।
अन्तिम चारमा विकेन थापा र राजेश भट्टराई, तथा विशाल केडिया र उपकार श्रेष्ठले पनि स्थान बनाए। भेट्रान्समा सबै खेलाडी मोरंगबाट अन्तिम चारमा परेका हुन्।
आयोजक मोरंग टेबल टेनिस संघका अध्यक्ष दत्तका अनुसार प्रतियोगितामा मोरंग र सुनसरीका १ सय जना खेलाडीको सहभागिता रहेको छ। दुइदिने प्रतियोगिता अन्तर्गत आइतबार भेट्रान्स डबल्सको फाइनल र भेट्रान्स सिंगलको खेल सुरु हुनेछ। प्रतियोगिता कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवसका अवसरमा आयोजना गरिएको हो।
प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका मोरंग जिल्ला सभापति डिगबहादुर लिम्बूले गरेका थिए। प्रतियोगितामा राष्टिय खेलकुद कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, पूर्व जिल्ला सचिव यदु विष्ट, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष किशोर अमात्य लगायतको उपस्थिति थियो।