
अमेरिकाको संघीय ट्रेड कमिसनले सामाजिक सञ्जाल फेसबुकमाथि अनुसन्धान सुरु गरेको छ । फेसबुकका ५० मिलियन भन्दा बढी प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक परामर्श दिने फर्मले अनधिकृत रुपमा प्रयोग गरेको भन्ने आरोप लागेपछि कमिसनले अनुसन्धान सुरु गरेको बिबिसीले उल्लेख गरेको छ ।
सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको प्रचार प्रसार टिमले अनुबन्धित गरेको क्याम्ब्रिज एनालिटिका (सिए) ले फेसबुकका प्रयोगकर्ताको व्यक्तिगत विवरण लिएर त्यसलाई राजनीतिक प्रचारका लागि प्रयोग गरेको आरोप छ ।
सिएमाथि फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण अनधिकृत रुपमा लिएको आरोप लागेपछि उसले आफ्ना प्रमुख अलेक्जेण्डर निक्सलाई निलम्बित गरेको छ ।
अमेरिकाको निर्वाचन कानुनको सिएले उल्लंघन गरेको हुन सक्ने आरोप छ । बेलायतको लण्डनमा आधारित कम्पनी सिएले भने आफूले कुनै किसिमको गलत काम नगरेको दाबी गर्दै आएको छ ।
फेसबुकमा प्रयोगकर्ताको जानकारी असुरक्षित, प्रतिबन्धको खतरा
फेसबुकले पनि आरोप अस्वीकार गर्दै आएको छ । तर स्टक मार्केटमा उसको शेयर मूल्य घट्ने क्रम जारी छ । बेलायत तथा युरोपियन युनियनको संसदले फेसबुकका प्रमुख मार्क जुकरबर्गसँग प्रयोगकर्ताको जानकारी सुरक्षित रहेको र कुनै किसिमले गलत प्रयोग नभएको प्रमाण दिन माग गरेका छन् ।
जुकरबर्ग मंगलबार अमेरिकाको क्यालिफोर्नियामा भएको फेसबुक स्टाफलाई पछिल्लो अवस्थामा भएको ब्रिफिङमा सहभागी भएनन् ।
फेसबुकमाथि हुने गरेको आलोचना नयाँ होइन तर पछिल्लो पटक प्रयोगकर्ताको जानकारी असुरक्षित मात्रै नभइ अनधिकृत रुपमा प्रयोग गर्न दिएको कुराले उसमाथिको दबाब अहिलेसम्मकै उच्च भएको छ ।
गएको हप्ता बेलायती पत्रिका द गार्डियन र अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले फेसबुकका दशौँ लाख प्रयोगकर्ताको जानकारी अनधिकृत रुपमा प्रयोग भइरहेको र यसबारे फेसबुकले प्रयोगकर्तालाई जानकारी नदिएको भन्दै खबर छापेका थिए । डाटा फर्म क्याम्ब्रिज एनालिटिकाले फेसबुकबाट प्रयोगकर्ताको जानकारी संकलन गरेको उनीहरुले दाबी गरेका छन् ।
यो खबर आएपछि फेसबुकले क्याम्ब्रिज एनालिटिकाको पेज बन्द गरेको छ । एनालिटिकाले अनधिकृत रुपमा जानकारी संकलन गरेको र त्यसलाई डिलिट पनि नगरेको दाबी गरिएको छ ।
एनालिटिकाले बनाएको पर्सनालिटी क्वीज एप्लिकेशन मार्फत फेसबुक प्रयोगकर्ताको जानकारी संकलन गरिएको दाबी छ । यसरी संकलन गरिएको जानकारी सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको पक्षमा प्रचार गर्नका लागि प्रयोग भएको दाबी गरिएको छ ।
फेसबुक र क्याम्ब्रिज एनालिटिका दुवैले आफूहरुले प्रयोगकर्ताको जानकारीको अनधिकृत र अवैध प्रयोग नगरेको दाबी गर्दै आएका छन् ।
पछिल्लो आरोपले फेसबुक समस्यामा परेको छ । पछिल्लो समय प्रयोगकर्ताको बढोत्तरी सोचे अनुसार नभएर चिन्तामा रहेको फेसबुकलाई यो आरोपले थप अप्ठ्यारोमा पारेको छ ।