सन्दर्भ : विश्व पानी दिवस

पानी जिन्दगानी, पानी अवसर

+
-

काठमाडौं – पानी जस्तो जिन्दगी वा जिन्दगी पानी जस्तो । पानी जस्तै शरीर वा शरीरभरि पानी । कहिले बाफ, कहिले बादल, कहिले वर्षा त कहिले झरी । ताल तलैया, नदीनाला, खोला खहरे । इनार कुवा, धारो पँधेरो वा भनौँ समुद्र सागर ।

जे भने पनि वा जस्तो रुप या स्वरुपमा रहे पनि, पानी । पानी बिनाको जीवन वा सृष्टि कल्पना भन्दा पर मात्रै होइन बाहिरको कुरा ।

यहि पानीको महत्वलाई सम्झने दिन बिहीबार । हुन त पानीको महत्व सम्झेर मात्रै हुने होइन, हरेक क्षण हरेक पल मानव मात्र नभएर समग्र प्राणी जगत अनि वनस्पतिले पनि भुल्नै नसक्ने, छुटाउनै नमिल्ने चिज, पानी ।

तर एक दिन त यस्तो होस्, जुन दिन पानीलाई थप माया गर्ने बानी बसालोस् । पानीसँग जोडिएका रहेक जीवनको ख्याल गरोस् । यहि उद्देश्यका साथ हरेक वर्ष मार्च २२ का दिन विश्व पानी दिवस मनाउने गरिएको छ ।

नेपालमा पनि बिहीबार विभिन्न कार्यक्रम गरी विश्व पानी दिवस मनाईंदै छ । दिवसको अवसरमा यो वर्षको नारा ‘प्रकृतिका लागि पानी’ तय गरिएको छ ।

जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी नियकाय र विभिन्न सामाजिक सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरेका छन् ।

विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९२ को मार्च २२ मा विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो । त्यसै अनुरुप यो दिवस मनाउने गरिएको छ ।

पानी जिन्दगानी, पानी अवसर


पानी मानव जीवनको आधार अनि प्राणी र वनस्पतिको पनि । तिर्खा मेटाउन वा स्वास्थ्यका लागि पानी अत्यावश्यक । पानी जीवनका लागि जस्तै रोजकारीका लागि पनि महत्वपूर्ण छ ।

पानीकै कारण धेरै रोजगारी सिर्जना भएका छन् । यस्तै पानीले आर्थिक, सामाजिक तथा मानवीय विकासका लागि पनि सहयोग गर्दै आएको छ ।

विश्वमा अहिले स्वच्छ पानीको अभाव बढ्दै गएको छ । विकासको गति जति तीब्र बन्दै गएपनि पानीको समस्या वा तिर्खा मेटिएको छैन ।

अहिले पनि विश्वमा ६६ करोड ३० लाख मानिस घर नजिक सुरक्षित वा स्वच्छ पानीको स्रोत बिना जीवन चलाउन बाध्य रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

पानी ल्याउनकै लागि घण्टौँ धाउनु पर्ने बाध्यता छ । त्यहा पुगेर पनि लाइनमा बस्नु पर्ने अनि पानी भने जति नपाउने समस्या रहेको छ ।

समाधानको प्रयास के त ?


यहि समस्यालाई बुझेर यो वर्ष प्रकृतिका लागि पानी भन्ने नारा तय गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । यो शताब्दीको पानीको समस्याबाट बाहिर निस्कनका लागि प्रकृतिलाई नै प्रयोग गर्न सकिने र त्यसलाई उजागर गर्नका लागि यो नारा तय गरिएको हो ।

जलवायु परिवर्तनसँगै वातावरणीय क्षयीकरणले पानीका प्राकृतिक स्रोत नासिँदै छन् वा हराएका छन् । ति स्रोतको संरक्षण गर्न सके मात्रै अब वा आउने दिनमा पानीको समस्या थप विकराल बन्नबाट रोक्न सकिने विज्ञले बताएका छन् ।

पानीघट्टमा अन्न पिस्दै एक मानिस । तस्बिर सौजन्य : ऋग्वेद शर्मा

विश्वमा पानी सम्बन्धी समस्या बढ्दै गएको छ । बाढी, खडेरी, पानीका स्रोतमा प्रदूषणले पानी आफैलाई मात्रै कुरुप बनाएको छैन, यसले खेतीपाती, माटो, नदी र तालहरुलाई पनि अधोगतिमा लगेको छ ।

यो समस्याबाट बाहिर आउनका लागि पारिस्थितिक प्रणालीलाई चुस्त राख्नु पर्ने र त्यसका लागि प्रकृतिमै आधारित सामाधानका उपाय खोजिनु पर्नेमा जोड दिइएको छ ।

त्यसका लागि सकेसम्म विकासलाई हरित बनाउने, वन विनास रोक्ने, नयाँ वन वा वन क्षेत्रको विकास गर्ने, बाढी आउने क्षेत्र र नदीलाई जोड्ने, जलाधार क्षेत्रलाई बिनास हुन नदिने गर्नु पर्छ । यसले मानव जनजीविकालाई सजिलो बनाउने पक्का छ ।

दीगो विकास लक्ष्यमा पनि यो पानी सम्बन्धी समस्या समाधानको कुरालाई १७ उद्देश्यमध्ये छैटौँ नम्बरमा राखिएकाले सबैले एकीकृत प्रयास गर्नु पर्नेमा जोड दिइएको छ । यसका लागि पानीको प्रयोग मितव्ययी बनाउने र पुनः प्रयोगलाई प्रभावकारी बनाउनु पर्छ ।

युएन वाटर विश्वका सबै सरकार र पक्षसँग पानी सम्बन्धी समस्या समाधानका लागि सहकार्य गर्न तयार रहेको पनि जनाइएको छ ।

तथ्य र तथ्यांक


विश्वमा अहिले पनि ६६ करोड ३० लाख मानिस घर नजिक सुरक्षित वा स्वच्छ पानीको स्रोत बिना जीवन चलाउन बाध्य छन् ।

विश्वमा उत्पान हुने फोहोर पानी (एकपटक प्रयोग भएको पानी) को ८० प्रतिशत भन्दाबढी मात्रा मानव बस्तीबाट निस्कने गरेको छ । यो पानी पुनः प्रयोग बिना नै पारिस्थितिक प्रणालीमा जाने गरेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वमा १ अर्ब ८० करोड मानिसले प्रयोग गर्ने गरेको खाने पानीको स्रोत संक्रमित रहेको छ । यसबाट हैजा, झाडापखाला, पोलियोसहितका रोगको जोखिम बढेको छ ।

असुरक्षित पानी र कमजोर सरसफाइका कारण विश्वमा हरेक वर्ष ८ लाख ४२ हजार मानिसको ज्यान जाने गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?