

काठमाडौँ-
मृगनयन
खोज्दैछ फाँटहरु
पर्खालभित्र
—(रामकुमार पाँडे)
सदर चिडियाखाना, जावलाखेलमा शनिबार एक हुल हाइजिन (हाइकु रचनाकार) पसे र त्यहाँका पशुपक्षी, बोटविरुवा र वातावरणलाई विषय बनाई सय थान हाइकु रचना गरे।
नेपाल हाइकु केन्द्रले आयोजना गरेको वसन्त हाइकु यात्राका सहभागी रामकुमार पाँडे, सुवर्णराम जोशी, लालबहादुर भुजेल, श्रीहरि फुयाँल, श्याम रिमाल, मुकुन्द पथिक, रमेश सागर, मित्रबन्धु पौडेल, शेरबहादुर तामाङ र विभव अधिकारीले चिडियाखानाका पशुअधिकार, स्वतन्त्रताकोे महत्व, कैदी जीवनको विवशता, वसन्त ऋतुको सौन्दर्य, मानिस र जनावरको भिन्नता, यातनामा रमाउने मान्छेको प्रवृत्ति आदिलाई ऋतुबोधक र विम्वात्मक पाराले हाइकुमा पोखे। चिडियाखाना घुम्दै आएकी राधिका पन्तले पनि उक्त अवसरमा आशावादी कविता सुनाइन्।
एक घण्टासम्म चिडियाखानामा यात्रा गर्दै हाइजिनले लेखेका बहुसङ्ख्यक कवितामा स्वतन्त्रतालाई नै सबैले प्राथमिकता दिएका थिए र पशुअधिकारबारे वकालत गरेका थिए –
नथुन्नू अब
पशु र चरालाई
रमिता हेर्न । (मुकुन्द पथिक)
उल्टो नियम
उड्नेलाई थुनेर
थुन्ने उड्या छ । (मित्रबन्धु पौडेल)
बन्दी होइन
चराचुरुङ्गीहरु
आकाश माग्छन् । (श्रीहरि फुयाँल)
उक्त अवसरमा हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले केन्द्रले प्रायः सबै छ ऋतु र घोडेजात्रामा कार्यक्रम आयोजना गरेको, हाइजिनहरुले प्रायः यात्रामार्फत हाइकु लेख्दै आएको र केन्द्रले प्रकाशन पनि गरेको जानकारी दिँदै नेपाली साहित्यलाई जापानी शैलीको हाइकु (तीन हरफ, पाँच–सात–पाँच अक्षर, ऋतुबोधक शब्द र विम्बसहित)ले धनी बनाएको र यसप्रति स्रष्टाको आकर्षण बढिरहेको बताए।
मयूरी नाच
बन्धन भए पनि
बाँच्ने उत्साह । (विभव अधिकारी) ।

