
नेपालगञ्ज- नेपालगञ्जको बागेश्वरी मन्दिरमा दर्जनौँ व्यक्तिले जिब्रो छेडेका छन्। नेपालमात्रै होइन, भारतबाट आएका भक्तजनले समेत जिब्रो छेडेर बागेश्वरी मातालाई खुशी बनाएका छन्।
भक्तपुरका जुजुभाइले जसरी आइतबार राम नवमीको अवसरमा बागेश्वरी मन्दिरमा दर्जनौले जिब्रो छेडेका हुन्। भारत कटवाबजारका मैकुलाल केवटले राम नवमीमा बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेको १५ वर्ष भइसकेको छ।
विगतको जसरी यसवर्ष पनि आइतबार बिहान बागेश्वरीमा आएर मैकुलालले जिब्रो छेडे। ‘माताको आशिर्वाद छ। वर्षेनी आएर जिब्रो छेड्छु, मैकुलालले भने, माताप्रतिको विश्वासले गर्दा जतिपटक जिब्रो छेडेपनि केही हुँदैन।’
बर्दियाका तेजराम माहुतले केहीबेरको अन्तरमा दुई पटक जिब्रो छेडे। तेजरामले बच्चादेखि नै रामनवमीमा बागेश्वरी मन्दिरमा आएर जिब्रो छेड्ने गरेको बताए। उनका दाई लक्षु माहुतले पनि वर्षेनी जिब्रो छेड्ने गरेका छन्।
‘भूत सैतानबाट आफू र परिवारलाई सुरक्षित राख्न वर्षेनी जिब्रो छेड्ने गरेका छौं, लक्षुले भने, जिब्रो छेडेपछि माता खुशी हुन्छिन् । र, परिवारमा कुनै आपत आइलाग्दैन।’
बाँकेको पहाडीपुरका कलिराम माहुत, खेलावन माहुत र गणेश माहुतले पनि केहीबेर मन्दिर अगाडि काम्दै जिब्रो छेडे। बाजेको पालादेखि नै बागेश्वरी मन्दिरमा आएर जिब्रो छेड्ने गरेका बर्दिया दक्षिणभकारीका प्रेमसागर माहुतले जिब्रो छेड्ने क्रममा पूर्खालाई सम्झिने गरेको बताए।
‘मैले तीन वर्षदेखि जिब्रो छेड्दै आएको छु । आज घरमा पनि जिब्रो छेडेर यहाँ आएको हुँ, यहाँ पनि छेडे, प्रेमसागरले भने, जिब्रो छेड्दा हामीले पूर्खा र बागेश्वरी मातालाई बोलाउँछौं।’
सतिदेवीको जिब्रो पतन भएको ठाउँ भएकाले बागेश्वरी मातालाई खुशी तुल्याउन जिब्रो छेड्ने गरेको जनविश्वास रहेको छ। बागेश्वरी मन्दिरमा रामनवमीमा वर्षेनी दर्जनौंले जिब्रो चढाउने गर्दछन् । मन्दिर आएर जिब्रो छेडाउदै जाने भएकाले कतिले छेडे भन्ने मन्दिर व्यवस्थापन समितिलाई यकिन नहुने गरेको छ ।
यसैबीच, रामनवमीको अवसरमा बागेश्वरी मन्दिरमा पूजा गर्न आउने भक्तजनको ठूलो भीड लागेको छ। टाढाटाढाबाट भक्तजनहरु आएर पूजा गरेका छन्। भीडभाडमा कुनै किसिमको अपराधिक गतिविधि नहोस् भनेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।