
काठमाडौँ- उपचारको क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा शुक्रबार साँझ निधन भएका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का नेपालको राजनीतिमा चिरपरिचित र प्रभावशाली व्यक्तित्व हुन्।
मिर्गौलारोगबाट ग्रसित खड्को नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको नेपाली कांग्रेसले जनाएको छ। २००८ सालमा जन्मेका खड्का आठपटक मन्त्री बनेका थिए। उनी २०४८ सालदेखि २०५८ दश वर्षको अवधिमा आठपटक मन्त्री भए। सधैं प्रभावशाली मन्त्रालयको मात्र जिम्मेवारी पाएका खड्का २०५१ सालमा एमालेको ९ महिने शासनकाल र २०५२ मा लोकेन्द्रबहादुर चन्दको पालामा बाहेक ०५८ अघिका सबै सरकारको निर्णायक व्यक्ति नै उनी थिए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य खड्काले पार्टीको नीतिविपरीत धर्मनिरपेक्षता र गणतन्त्रको विरोध गरेका थिए।
खड्का सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर हुने नेपाली राजनीतिका पहिलो माथिल्लो स्तरका नेता हुन् । दाङबाट कांग्रेसको राजनीति थालेका खड्का २०४८, ०५१ र ०५६ तीनपटक नै प्रतिनिधिसभाको सदस्य भएका थिए। पार्टीको तल्लो तहमा पकड जमाएका खड्का कांग्रेसका हक्की र आँटी नेताका रुपमा परिचित थिए। पार्टीको तल्लो तहसम्म उनको पकड पछिल्लो सयमसम्म पनि बलियो थियो।
२०५१ सालमा नेपाली कांग्रेसले चुनाव हारेपछि संसदीय दलमा आफ्नो बलियो पकड हुँदाहुँदै पनि त्यतिबेला कमजोर मानिएका शेरबहादुर देउवालाई समर्थन गरेका थिए। त्यस घटनालाई खड्काको कमजोरी र देउवाको अवसरको ढोका खोलिएको मानिन्छ। किनकि त्यसपछि देउवा चारपटक प्रधानमन्त्री बने भने उनी भ्रष्टाचारीका रुपमा जेल बस्न विवश भए।
आफ्नो पक्षमा लाग्ने कार्यकर्तालाई कुनै पनि मूल्य चुकाएर भए पनि संरक्षण गर्ने उनको स्वभाव थियो। यसका कारण उनलाई पार्टीभित्र पडक जमाउन र लोकप्रिय हुन बल पुग्यो। २०३३ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किने कांग्रेसका पाँच प्रभावशाली नेतामध्ये उनी एक थिए। बिपी कोइराला, गणेशमान सिंह, शैलेजा आचार्यसँगै खड्का पनि एक थिए। विद्यार्थी राजनीतिदेखि नै उनी खुला र आँटी स्वभाका थिए।
सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरे पनि पार्टीमा केही कमजोर भए पनि उनी कांग्रेसमा सधै जस्तो निर्णायक नेताका रुपमा स्थापित भए। पार्टीभित्र मात्र होइन, २०५४ सालमा एमाले फुटाउनसमेत खड्काको मुख्य हात रहेको घटनाबाट उनी नेपाली राजनीतिमा कति हावी थिए भन्ने प्रष्ट हुन्छ। तर, २०५९ मा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा परेपछि उनको लोकप्रियता घट्दै गयो। प्रजातन्त्र आएपछि भ्रष्टाचारको मुद्दा खेप्ने चिरञ्जीवि वाग्ले, जयप्रकाशप्रसाद गुप्ता, गोविन्दराज जोशी, रवीन्द्रनाथ शर्मासँगै खुमबहादुर खड्का पनि एक थिए।
कांग्रेस पार्टी विभाजन हुँदा पहिले उनी देउवा खेमामा थिए, पछि फेरि संस्थापन पक्षमै फर्किए। २०७० असोजमा जेलमुक्त हुँदा कांग्रेस कार्यकर्ताले उनलाई एक सय १२ किलोको माला लगाएर स्वागत गरेका थिए। २०६९ सालमा सर्वोच्च अदालबाट भ्रष्टाचारी ठहर भएका खड्कालाई डिल्ली बजारस्थित सदर खोरमा राखिएको थियो। उनको शव शनिबार राजधानी ल्याइने कार्यक्रम छ।