
काठमाडौं – नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको अन्त्यष्टि आइतबार हुँदैछ । खड्काको दिउँसो ३ बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने नेपाली कांग्रेसले जनाएको छ ।
मिर्गौला, फोक्सो र नसा सम्बन्धी रोगबाट पीडित खड्काको उपचारको क्रममा शुक्रबार नयाँदिल्लीमा रहेको अपोलो अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीर शनिबार राति काठमाडौं ल्याइएको हो ।
बेलायतमा बस्दै आएका खुमबहादुरका छोरा अनुराग खड्का नेपाल नआइसकेकाले उनको पार्थिव शरीरलाई सानेपास्थित निवासमा राखिएको थियो ।
अन्तिम श्रद्धाञ्जलीका लागि खड्काको पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । दिउँसो १ बजेसम्म त्यहाँ उनको शव राखिने छ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा लगिने कांग्रेसले जनाएको छ ।
दिल्लीको अपोलो अस्पतालमै साढे दुई वर्षअघि खड्काको मिर्गौला प्रत्यारोपण गरिएको थियो । गएको फागुनमा उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि दिल्ली लगिएको थियो ।
खड्काको निधन भएपछि कांग्रेसको जारी केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ । आइतबार बिहान ११ बजे बस्ने तय भएको बैठक खड्काको निधनमा शोक प्रस्ताव मात्र पारित गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित हुनेछ ।