
लोकप्रिय नायिका केकी अधिकारी अहिले ‘कोहलपुर एक्सप्रेस’को निर्माताका रुपमा यसको रिलिज मिति वैशाख १४ पर्खिरहेकी छन्। उनीसँग देशसञ्चारकी बर्षा शाहले कोहलपुर एक्सप्रेसकै सेरोफेरोमा १० प्रश्न राखेकी थिइन्:
१. अहिले केमा व्यस्त हुनुहुन्छ?
अहिले मलाइ कोहलपुर एक्सप्रेसको प्रोमोसनले व्यस्त बनाएको छ। फिल्म रिलिज हुन धेरै समय बाँकी छैन। बैशाख १४ गते रिलिज हुँदै छ। आफूले एउटा राम्रो प्रोडक्ट (चलचित्र) बनाएपछि त्यसको बारेमा जानकार बनाउनु हाम्रो दायित्व हुन्छ र आवश्यकता पनि।
२. यो तपाईँको निर्माताको रुपमा पहिलो चलचित्र हो। यो चलचित्र निर्माण गर्नुको खास कारण?
हामी महिला कलाकारको योगदान जस्तै भनेपनि छोटो समयको लागि मात्र हुन्छ। तर, जुन क्षेत्रले मलाइ माया, साथ दिएको छ र मेरो पनि लगाव छ, त्यो क्षेत्रलाई अझै बढी योगदान दिउँ भन्ने नै मेरो उद्देश्य हो। त्यसबाहेक चलचित्र निर्माण अचानक आएको इच्छा होइन। राम्रो फिल्म बनाउने, नबनेको नयाँ तरिकाको कथामा चलचित्र बनाउँ भन्ने सोच पहिलादेखि कै हो। त्यसकारण निर्माणमा हात हालेको हो।
३. चलचित्रका कारण कत्तिको तनावमा हुनुहुन्छ?
एकदमै, किनभने कामहरु ठ्याक्कै भनेको समयमा सकिएको हुँदैन। अनि भोलि पनि नभ्याइने हो कि भन्ने तनाव मनमा रहिरहन्छ।
४. एउटा नायिका भएर तपाईँले अरुको चलचित्रमा काम गर्दा र आफू निर्माता भएर आफैँ काम गर्नुमा के फरक पाउनु भयो?
धेरै फरक हुदो रहेछ । निर्माताको रुपमा काम गर्नु भनेको सम्पूर्ण जिम्मा आफुले लिनु हो। मानव ब्यवस्थापन, कलाकारहरुको ब्यवस्थापन र आर्थिक ब्यवस्थापन लगायत सम्पुर्ण कुराहरुको ब्यवस्थापन गर्नुपर्छ। चलचित्रको सुटिङभन्दा पहिला, सुटिङको बेला र सुटिङ सकिएपछि पोस्ट प्रोडक्सन लगायत प्रचार प्रसार सबै निर्माताको हातमा हुन्छ। अभिनेत्रीको रुपमा त सुटिङको बेला गयो, अभिनय गर्यो र दिइएको समय अनुसार प्रोमोसनको कार्यक्रममा गयो, यति मात्र हुन्छ। निर्माताका रुपमा सबै जिम्मेवारी आफैँ लिनुपर्ने हुन्छ।
५. चलचित्रको नाम कोहलपुर एक्सप्रेस राख्नुको कारण?
म नेपालगंञ्ज राज्जा रानीको सुटिङका लागि गएको थिएँ। त्यति बेला फिल्म बनाउने सल्लाहमा हामी थियौँ। र, एकदमै फरक खालको शीर्षक राख्ने र कुनै ठाउँको नामबाट फिल्मको नाम राख्नु थियो कथाको माग अनुसार। त्यसकारण सबैसँग कुरा गर्दै जाँदा कोहलपुर एक्सप्रेस नै राख्न गइयो।
६. तपाईँले त्यस्तो के देख्नुभयो र नेपालगञ्ज नजिकैको शहर कोहलपुरको नामबाट फिल्मको नाम राख्नु भयो?
कोहलपुर भनेको गेटवे जस्तो छ जहाँबाट चारैतिर जान सकिन्छ। हामीलाई कथाले मागेअनुसार यस्तै ठाउँको आवश्यकता थियो। मेरो हेयर स्टाइलिस्ट त्यहीँको हुनुहुन्छ। उहाँको मुखबाट कोहलपुर भन्ने शब्द धेरै पटको सुनिरहेको हुन्थेँ। त्यो नाम अचम्मको लाग्ने गर्थ्यो। दुईतीनवटा नाम सुझावमा आउँदा विशाल दाइले (विशाल भण्डारी) यो नाम उपयुक्त हुन्छ भन्दै छान्नुभयो।
७. तपाईँ आफैँ यो चलचित्रको निर्माता हुनुहुन्छ र कलाकार पनि। निर्माता र कलाकारको रुपमा यो चलचित्रले तपाईँलाई कत्तिको फाइदा पुर्याउँछ?
होइन, मैले फाइदा बेफाइदा सोचेर काम गरेको नै होइन। पहिलो कुरा त म कर्ममा विश्वास गर्ने मान्छे हुँ। आफूले गर्दै जाने हो, यसले कस्तो प्रतिफल दिन्छ, त्योसँग मतलब हुँदैन। इमानदारीपूर्वक मलाई दिइएको काम मैले जिम्मा लिनु पर्यो र मैले त्यो पूरा गर्न सक्नुपर्यो। दर्शकलाइ जस्तो लाग्छ, त्यही नै हो हाम्रो जितहार भनेको। त्यसकारण यो चलचित्रले कसतो प्रतिफल दिन्छ, त्यो अनुसार मैले भविष्यमा गर्ने कामको निर्धारण गर्छ। यही अनुरुप गए हुन्छ वा अझै सचेत भएर गर्नुपर्छ भन्ने निर्धारण गर्छ। फाइदा र बेफाइदा भन्ने हुँदैन, जेबाट पनि सिक्ने हो।
८. सिक्ने क्रममा हुनुहुन्छ?
हजुर।
९. ठूलो लगानी गर्नुभएको छ। लगानी उठोस् भन्ने त हुन्छ ..
त्यो त हुन्छ।
१०. यो एक प्रकारले व्यापार पनि हो। लगानी उठ्छ कि उठ्दैन भन्ने चिन्ता तपाईँलाई कत्तिको छ?
अँ….. मलाई असफलतादेखि त्यति डर चाहिँ लाग्दैन। मैले धेरै सामना गरिसकेको छु असफलताको। मलाइ के लाग्छ भने जिन्दगीमा कि सफल भइन्छ कि चाहिँ सिकिन्छ। हार भन्ने हुँदैन। त्यसकारण यो फिल्मले लगानी सुरक्षित गरोस्, त्यसकै पक्षमा मैले आफूले गर्नुपर्ने जिम्मेवारी निर्वाह गरेको छु। यसले केही कारणबश लगानी सुरक्षित गर्न सकेन भने पनि त्यो कुराले एकछिन थकाए पनि त्यसले निराश म हुने छैन।
एक हिसाबले फिल्मको लगानी सुरक्षित भइसकेको छ। डिजिटल अधिकार, प्रायोजकहरु र अन्तर्राष्ट्रिय अधिकारको हिसाबमा फिल्मको लगानी सुरक्षित छ। आर्थिक पक्षको कुरा गर्ने हो भने। तर यो मात्र ठूलो कुरा होइन, चलचित्र दर्शकलाई मन पर्नुपर्यो।