काठमाडौं- उतारचढाव पूर्ण सेयर बजार एकै दिन ४४.२६ अंकले उकालो लागेको छ।
साताको पहिलो कारोबार दिन सेयर बजारमा तिब्र उछाल देखिएको हो।
आइतबार बिहान १२५०.३९ अंक रहेको नेप्से परिसूचक कारोबार सुरु भएको आधा घण्टामै १२६८.३६ अंक पुगेको थियो।अर्को आधा घण्टामा बजार ओरालो लागेर १२५२ अंक सम्म पुगेको थियो। त्यसपछि लगातार उकालो लागेको नेप्से परिसूचक १३०३.१ अंक पुग्यो। तर बजार बढ्ने क्रममा ब्रेक लाग्दा १० मिनेटमै २८ अंकले ओरालो लागेको नेप्से परिसूचक अन्तिम १० मिनेट पुनः २० अंकले उकालो लाग्दा १२९४.६५ अंकमा पुगेर रोकिएको हो।
सेयर बजारका जानकारहरुले आइतबार नेप्से परिसूचकमा देखिएको उतारचढावलाई अस्वाभाविक भएको बताएका छन्।
धितोपत्र बोर्डले मर्चेन्ट बैंकहरुलाई सेयर किन्न दवाब दिएकाले आइतबार बजार उकालो एक मर्चेन्ट बैंकरले देश सञ्चारलाई जानकारी दिए।
केहि समय देखि न्यून रकमको सेयर खरिद बिक्रि हुन् थालेको भन्दै धितोपत्र बोर्डले मर्चेन्ट बैंकरहरुलाई सेयर किन्न दवाब दिएको उनले बताए।
स्रोतले भन्यो, ‘ सर्वसाधारणबाट सङ्कलन गरेको पैसा मुद्दती खातामा राखेको भन्दै धितोपत्र बोर्डले मर्चेन्ट बैंकहरुलाई सेयरमा लगानी बढाउन निर्देशन दिएको थियो।’ आइतबार मर्चेन्ट बैंकरले सेयर किन्दा नै कारोबार रकम बढेको एक मर्चेन्ट बैंकरको दाबी छ।
उनि भन्छन्, बोर्डको निर्देशनले केहि दिन माग बढ्न सक्छ तर दीर्घकालीन रुपमा बजारमा माग बढ्न वित्तीय अवस्थामै सुधार हुनु पर्छ। निक्षेपमा बैंक वित्तीय संस्थाको ब्याजदर नघट्दा सम्म बजारमा माग बढ्न नसक्ने उनको तर्क छ।
एक ब्रोकरले मर्चेन्ट बैंकरहरुले सेयर किनिरहेको पुष्टि गर्दै भने, आइतबार सेयर बजारमा देखिएको उतारचढाव अस्वाभाविक हो। मर्चेन्ट बैंकरले सेयर किन्दा बजारमा माग बढेकाले अन्य लगानीकर्ताको मनोबल बलियो भएको उनको भनाई छ।
सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल पनि आइतबार बजारमा देखिएको बृद्धि टिक्नेमा आशावादी छैनन्। मर्चेन्ट बैंकहरुले सेयर किन्दा बजार उकालो लागेको उनि बताउँछन्। मार्जिन कल, ब्याजदर लगायात समस्या समाधान भए मात्र बजार बढ्ने उनको भनाई छ।
आइतबार धेरै सयम पछि १ सय ७६ कम्पनीको ९१ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ।
बिगत केहि महिना देखि ३०-४० करोड रुपैयाँ आसपासमा सेयर खरिद बिक्रि हुने गरेको थियो।
३ करोड १४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको नबिल बैंक धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो।
आइतबार कारोबार भएका १४ कम्पनीको मूल्य ओरालो लाग्दा राधी बिद्युत कम्पनी धेरै रकम ओरालो लाग्ने कम्पनी बन्यो। राधीको मूल्य ३.४३ प्रतिशतले ओरालो लाग्यो।
यस्तै धेरै रकम बढ्ने कम्पनीको सुचिमा सुर्योदय लघुवित्त वित्तीय संस्था र महुली सामुदायिक लघुवित्त वित्तीय संस्था रहे। सुर्योदय र महुलीको मूल्य अधिकतम १० प्रतिशतले उकालो लागेको हो।

भर्खरै
लोकप्रिय






































































































































































































