
काठमाडौँ- उच्च राष्ट्रसंघीय पदहरुमा लामो समय काम गरेका ६० वर्षीय क्यानेडियन नागरिक पिटर जोन ड्यालगिस २ किशोरसहित आपत्तिजनक अवस्थामा काभ्रेको एक घरबाट समातिएका छन्। शनिबार बिहान समातिएका उनलाई बाल यौन दुराचारमा मुद्दा चलाइएको छ।
विभिन्न मुलुकका विदेशी नागरिकहरुले नेपाली बालकहरुलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारी बाल यौन दुराचार गर्ने गरेको भन्ने सूचनाका आधारमा शनिबार काभ्रेको मण्डन देउपुर गाविसबाट ६० वर्षीय क्यानेडियन ड्यालगिसलाई दुई किशोरहरुसहित पक्राउ गरिएको हो।
हिमालयन कम्युनिटी फाउन्डेसन सञ्चालन गरी पिटरले गत दुई वर्षमा गरिब तथा विपन्न समुदायमा शिक्षा तथा खानेपानीमा सहयोग गरिदिएको र ती समुदायका उनले छनोट गरेका बालबालिका पढाइदिने, विदेश घुमाइदिने र ठूलो भएपछि जागिर लगाइदिने प्रलोभनमा बालबालिकाको शोषण गर्ने गरेको केन्द्रीय अपराध ब्युरोले जानकारी दिएको छ।
पिटर बालबालिकाका क्षेत्रमा लामो समयदेखि काम गरिरहेका छन्। उनले तीनवटा मानार्थ विद्यावारिधिसमेत पाएका छन्। उनले युएन ह्याबिट्याटको अफगानिस्तान प्रमुखको भूमिका निर्वाह गर्नुका साथै डब्लुएचओ र डब्लुएफपीमा समेत काम गरेका छन्। बाल यौन दुराचारमा १५ वर्षसम्म कैद हुने व्यवस्था छ।