
काठमाडौं- विराटनगरमा आइतबार बिहान हिन्दु धर्मगुरु श्री निवासाचार्यमाथि भएको हत्या प्रयासको विराेधमा सोमबार अपरान्ह हिन्दुवादी संस्थाहरु माइतीघरमा एक भएर विरोधमा उत्रिए ।
सय भन्दा बढीको उपस्थिति रहेको प्रदर्शनमा साधु सन्तदेखि हिन्दुवादी संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो। कार्यक्रमका वक्ताहरु सलाईको काँटीमात्र कोरिएको बताउँदै अब मसाल बोकेर उत्रने बताए।
‘ डलरको खेती बन्द गर’, ‘धर्म बेच्न पाइँदैन ‘जस्ता नाराहरुबीच बक्ताहरु भन्दै थिए, ‘मन्दिरमा बसिरहेको एउटा साधुलाई मध्यरातमा गोली हानी हत्या गर्ने प्रयाश भएको छ। सरकार र विदेशीहरुको योजनामा केही डलरहरुको खेतीमा नेपाली समाजलाई द्वन्द्वमा धकेल्न गरिएको षड्यन्त्र हो यो।’
उनीहरुले राष्ट्रवादको विषय भएकाले दलगत र जातिगत दायराभन्दा माथि उठेर यस विषयमा अग्रसर हुनैपर्ने समय आएको बताए।
प्रहरीले धर्मगुरुको हत्या प्रयास गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
सबै तस्बिरहरु: बर्षा शाह